म जान्ने भएर बिग्रिएँ!



नागरिक अपडेट


कुमुद कोइराला

Advertisement

‘मेरो पूर्व वक्ता साथीले भन्नुभयो, पढाइ गर्ने नै धन कमाउन हो। धन नै भएन भने पढेको के अर्थ!’ म यसको खण्डन गर्दै के भन्छु भने यदि तपाईं पढ्नु भयो भने धन तपाईंको पछि-पछि लाग्नेछ।’

मैले ८ कक्षाको वादविवाद प्रतियोगितामा ‘धनभन्दा शिक्षा ठुलो’ शीर्षकमा पक्षबाट बोलेको थिएँ। नतिजा आयो, म दोस्रो भएँ। धन ठुलो भन्ने पक्षमा बोल्ने साथीले पहिलो भएर उपहार पायो। त्यति बेला सोचेको थिएँ, तर्क जे सुकै गरेर जिते पनि धनभन्दा ठुलो शिक्षा नै त हो।

हुन त कक्षाको प्रथम म, मलाई शिक्षा सबैभन्दा ठुलो हो भन्न कुनै आपत्ति थिएन। आफूसँग जे छ त्यो ठुलो हो भन्नु ‘इगो’ पनि थियो। पढाइमा अब्बल थिएँ, कक्षाको सबैभन्दा अब्बल। शुक्रबारे कार्यक्रममा म प्रथम नहुने भन्ने कुरै थिएन। परीक्षामा त मलाई कसले पो सक्थ्यो।

Advertisement

एसएलसीको नजिता पनि आयो, ८६.१२ प्रतिशत। गाउँभरिको सबैभन्दा उत्कृष्ट अंक थियो त्यो बेला। ‘फलानाको छोरो टाठो छ, यसले गरी खान्छ।’ सबैले यही भन्थे। जान्ने केटो के पढ्नु? साइन्स त हो। पोखराको उत्कृष्ट कलेजमा भर्ना पनि भएँ। १२ को रिजल्ट पनि राम्रै आयो, डिस्टिङसन।

एसएलसीमा सेकेन्ड डिभिजन आएको साथीसँग म खासै बोल्दैन थिएँ। बोल्न त लेभल मिल्नु पर्‍यो। खै कुन ‘इगो’ थियो मसँग। म त जान्ने मान्छे पो त! त्यस्ता साथी मेरा कैयौँ थिए। उनीहरूले १२ जेनतेन पास पनि गरे। म त जान्ने मान्छे, १२ पढेपछि बाहिर जाने त पढ्न नसकेर पो हो! नेपालमा ब्याचलर पढ्ने हो।

मलाई त्यति बेलासम्म पनि बाहिर जान्छु भन्ने कुनै सोच थिएन। हुन त बा-आमा, समाजमा ‘जान्ने मान्छे’ भन्ने पगरी गुथेको मान्छे किन जानु विदेश? म बिएससिएजीमा भर्ना भएँ। एमबिबिएस, इन्जिनियरिङपछि सबैभन्दा ‘ट्रेन्डिङ’ थियो बिएससिएजी।

म खुसी थिएँ, बाआमा खुसी थिए। ‘जान्ने केटो’ भन्ने ट्याग भिराएका छिमेकी पनि कुनै आश्चर्यमा थिएनन्। मलाई ‘जान्ने हुनु’ को बाआमाको अनि समाजको प्रेसर थियो। जुन मजासँग ह्यान्डल गरिरहेको थिएँ, जुन प्रेसर मेरा अन्य साथीहरूमा थिएन। न उनीहरूलाई ‘जान्ने’ हुनुको ट्याग, न पढेर केही गर्छ भन्नेको प्रेसर। उनीहरूले विदेश रोजे। कोही अस्ट्रेलिया, कोही युरोप, कोही अमेरिका, कोही अरू कतै।

आज मैले ब्याच्लर पास गरेको ३ वर्ष पुग्न लाग्यो। मास्टर्स पनि लगभग सकिन लाग्यो। अंक पनि राम्रै आयो। अब मलाई म ‘जान्ने’ हुनुको कुनै खुसी छैन। म एउटा सामान्य जागिर गर्छु। नेपालीहरूको औसत तलबभन्दा मेरो केही माथि पनि छ तर म ‘जान्ने’ हुनुको उपहार यति मात्र हो?

हुन त जागिर खोज्न थालेको करिब एक वर्षपछि बल्लतल्ल पाएको जागिर हो। त्यो पनि कसैलाई भनेर। म यसमा खुसी छैन भन्न खोजेको हैन, तर म भित्रको ‘ जान्ने मान्छे ‘ पक्कै खुसी छैन।

१२ कक्षापछि अस्ट्रेलिया गएको साथीले किनेको जग्गामा म चप्पल लाएर इभिनिङ वाक गर्छु। नपढेर खाने साथी युरोप गएर किनेको गाडी मेरो ‘सर्टिफिकेट’ मा हिलो छेपेर बत्तिन्छ। सेकेन्ड डिभिजन लिएर अमेरिका गएको साथीले किनेको घरको चिल्लो टायलमा आफ्नो अनुहार हेरेर आफैलाई भन्छु- म त जान्ने भएर बिग्रिएँ!

कक्षा ८ को वादविवाद प्रतियोगितामा मलाई फेरि भाग लिनु छ र धन ठुलो भन्ने पक्षमा बोलेर प्रथम हुनु छ।
यो लेख सेतोपटिमा कुमुद कोइरालाले लेख्नुभएको हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया