मनोज कार्की,गुल्मी : मालिका गाउँपालिका-४ ठुलीचौरका प्रेम बहादुर थापाको १३ रोपनी जग्गा जमिन छ। थापाले आफ्नो बारीमा वर्षमा एक पटक मकै, आलु र कोदो लगायतका अन्नबाली रोप्ने गर्छन्। उनले गत फागुनमा दुई हलको बारीमा मकै रोपेका छन्।
मकैसँगै थापाले केही खाली बारीमा आलु खेती पनि गरेका छन्। गतवर्ष उनले ३० मुरी आलु र नौ मुरी मकै उत्पादन गरेर बिक्री गरेको बताउँछन्। तर, यस वर्ष बँदेल र जंगली जनावरका कारण उत्पादन के कति हुन्छ भन्ने नै टुंगो छैन। पछिल्लो केही वर्षयता जंगली जनावरका कारण गाउँमै उत्पादन घटिरहेको उनले बताए।
अहिले ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपज जंगली जनावरको आहार बन्ने गरेको छ। थापाको सानो परिवार छ। उनी छोरी चुमा थापा पनि घरमै छिन्। छोरीले दिउँसो गाउँकै एक बैंकमा जागिर गर्छिन्। बिहान बेलुका र फुर्सदको समयमा उनले परिवारलाई खेती किसानीमा सघाउँछिन्।
विगत केही वर्षदेखि बँदेल लगायत जंगली जनावरले सताएपछि उनको परिवारले जनावरलाई रोक्न बारी वरिपरि बाँसले घेराबार गरेका छन्। तरपनि उनी र गाउँका किसानले जंगली जनावरको समस्या भोग्दै आएका छन्। अहिले उनको बारीमा हरियो मकै र आलु छ। दिउँसो गाउँमा मानिसको चहलपहल हुने भएकाले जंगली जनावर देखिँदैनन्। रातभर गाउँबस्ती सुनसान हुने हुँदा जंगली जनावरको बास नै मकैबारीमा हुने गर्दछ।
जंगली वन्यजन्तुको हैरानीले सास्ती खेपेका केही गाउँलले वडा कार्यालय र गाउँपालिकालाई समस्या समाधान गर्न पटक पटक माग गरे पनि त्यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ। ‘मानो रोपेर मुरी फलाउने सोचले बारीमा मकै आलु रोपियो, बाली स्याहार्ने बेलामा बँदेल रातभर बारीमा पसेर भएको सबै सखाप पारिदियो’, ‘थापाले भनिन्’, ‘यस्तै भएर होला आजभोलि गाउँघरमा किसानको मनोबल घट्ने र बारी बाँझो रहने अवस्था नै सिर्जना भएको छ,सरकारले किसानलाई राहतको व्यवस्था गर्दै गर्दैन तर, घेरबारका लागि काँडेतार दिए पनि अर्को वर्ष बारी बाँझो राख्नु पर्ने थिएन।’
उनी जस्तै सोही गाउँका किसान हुन् हिराबहादुर थापा। छोराछोरी सहितको परिवार भएपनि अहिले घरमा उमेर पुगेका बूढाबूढी मात्रै छन्। छोराछोरी पढाइ र रोजगारीका लागि बाहिर गएका छन्। उनीहरूले घरमा एउटा भैंसी पालेका छन्। उनको पनि १५/१६ रोपनी जग्गा जमिन छ। थापाले खेतलाको साहारमा अन्नबाली रोप्ने र भित्र्याउने गर्दछन्।
गाउँको जग्गा मलिलो भएकाले उत्पादन पनि राम्रै हुने गरेको हिराबहादुर सुनाउँछन्। केही वर्षयता गाउँमा जंगली जनावर हावी भएकाले लक्ष्य अनुरूप प्रतिफल लिन नसकेको थापाले बताए। ‘गाउँमा युवा जनशक्ति न्यून छ भने भएका जग्गा जमिन बाँझिन थालेका छन्। पहिले गाउँमा टनाटनी गाईवस्तु पालिन्थ्यो, गाईभैसींको मल बारीमा छरिन्थ्यो , मानो रोपेर मुरी फलाइन्थ्यो तर यी कुरा अहिले एकादेशका कथा जस्तै भए,’ हिरा बहादुरले विगत स्मरण गरे।
‘आजभोलि गाउँमा मान्छे र घरपालुवा भन्दा जंगली जनावरको संख्या बढ्दै गएको छ त्यसैले वनजंगलमा आवश्यक आहार नहुँदा उनीहरू गाउँबारीमा पसिरहेका छन्’, ‘उनले भने’ ‘बाली भित्राउने बेलामा जंगली जनावरले दिएको दुःख र हैरानीका कारण हामी किसान आजित बनेका छौं तर,यसको व्यावस्थापन र निवारणका लागि सरकारसँग ठोस निर्णय नै छन्।’
मालिका गाउँपालिकाका अर्खाबाङ्ग, दर्लिङ्ग, घमिर, छापहिले, मर्भुङ्ग, नेटा लगायतका स्थानमा बाँदर र बँदेलले थप समस्या दिइरहेको छ। किसानले बारीमा रोपेको मकै बँदेल र बाँदरले सखाप पारिदिने गरेको छ। किसानले बाली सखाप पारेका तस्बिर खिचेर जग्गा बाँझो र किसानको मनोबल घट्नुको कारण यही होला भन्दै सामाजिक सञ्जाल मै राखेका छन्।
फागुनमा रोपेको मकैले साउनमा उत्पादन दिन्छ। यहाँका किसानको मुख्य आम्दानीको स्रोत आलु नै बन्ने गरेको छ। मकैसँगै आलुपनि उत्पादन हुने भएकाले यस क्षेत्रका किसानले दुई उत्पादन एकै पटक भित्राउँछन्। मकै भित्राएपछि लगत्तै खेतमा धान र बारीमा कोदो रोप्ने प्रचलन छ। अहिले मकैमा घोगा र आलुमा दाना लागिरहेको छ। मकैमा लागेको घोगा खाना रातिमा जंगली जनावरको बासस्थान नै बारी बन्ने गरेको स्थानीय किसान बताउँछन्।
ग्रामीण क्षेत्रमा दिउँसोमा बाँदर र रातिमा बँदेल र दुम्सी लगायतका जनावरको आक्रान्तले पछिल्लो समय किसानमा निराशा पैदा भएको छ। गुल्मीमा जङ्गली जनावरका कारण किसानलाई बाली जोगाउनै सकस परेको छ। जङ्गल नजिक बसोबास गर्ने किसान जङ्गली जनावर बँदेलबाट पीडित मात्रै पीडित बनेका छैनन् उनीहरू वन्यजन्तुका लागि आहार जुटाइदिने एक माध्यम समेत बनेका छन्। यी र यस्ता समस्या जिल्ला अधिकांश किसान भोग्न बाध्य छन्।
त्यस्तै मदाने गाउँपालिका –६ डढुवाका प्रेम बहादुर घर्तीले दिउँसोमा बाँदर र रातिमा बंदेलका कारण घोगा लाग्दै गरेका मकै जोगाउनै समस्या परेको गुनासो गरे। ‘सरकारले बाँदर र बँदेल मार्न पाउनुपर्ने कानुनी व्यवस्था गरिदिनुपर्यो,’ उनले भने, ‘होइन भने हामी किसानलाई मेहनत अनुसारको लगानी उठाउने अवस्था नै छैन।’ जङ्गली जनावर नियन्त्रणका लागि वडा कार्यालय र वन कार्यालयसँग आग्रह गरिए पनि किसानको समस्यालाई गम्भीरतापूर्वक नलिइएको किसानको आरोप छ।
‘जिल्लाका विभिन्न ठाउँमा बाँदर र बँदेलका कारण अन्नबाली जोगाउनै मुस्किल परेको छ। वन्यजन्तुले मकैबाली जोगाउन दिउँसोमा बारीको छेउमा छाप्रो निर्माण गरेर कुकुरको साहारा लिएर किसान बस्नुपर्ने बाध्यता छ,’ घर्तिले भने, ‘बँदेल साँझमा आएर कति बेला खान्छ पत्तै हुन्न, बाँदर र बँदेललाई मार्न दिने कानुनी व्यवस्था भएमात्र किसानले उत्पादन गरेको अन्नबालीमा कम क्षति हुने थियो।’
जङ्गली जनावरलाई मार्न नदिने र मकैबाली बचाउनका लागि बारीमा एक्लै जानुपर्दा वन्यजन्तुले आक्रमण गर्छ कि भन्ने डरको किसानले बर्सेनि समस्या भोग्नुपर्ने अवस्था रहि आएको छ। अघिल्लो आर्थिक वर्षमा मालिका गाउँपालिकामा अन्नबालीमा वन्यजन्तुले पुर्याएको क्षतिको क्षतिपूर्तिको माग र प्रहरी मुचुल्का सहित १८ जना किसानका निवेदन आएको कृषि विकास शाखाले जनाएको छ।
गाउँपालिका आएका सबै निवेदन डिभिजन वन कार्यालयमा राहत उपलब्ध गराउनका लागि पठाइएको छ। यस आर्थिक वर्षमा अन्नबालीमा वन्यजन्तुले पुर्याएको क्षतिका निवेदन नआएको गाउँपालिकाले जनाएको छ। खेतबारीमा रोपिएको अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याएमा मूल्याङकनको आधारमा १० हजार रुपैयाँ राहत उपलब्ध गराउने राहत वितरण निर्देशिका २०८० नै बनेको छ।
तर,राज्यबाट रकम अभाव भएकाले थुप्रै निवेदन कार्यालयमा आए पनि किसानले राहत नपाएको डिभिजन वन कार्यालय गुल्मीका वरिष्ठ वन अधिकृत पंकजकुमार ठाकुरले बताए। हाल किसानबाट वन्यजन्तुले क्षति पुर्याएको विवरण सहितका निवेदन धेरै नै आउने गरेको भएपनि राहतका लागि केही प्रक्रिया अगाडि नबढेको उनले बताए।