नयाँ सरकार गठन संविधानको कुन धारा अनुसार यस्तो छ सांसदहरूको तर्क



नागरिक अपडेट


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि संसदबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री संविधानको कुन धारा अनुसार नियुक्त गर्नेछन् भन्नेमा सर्वत्र चासो र बहसहरू भइरहेका छन् ।

Advertisement

वर्तमान प्रधानमन्त्री संविधानको धारा ७६(२) बमोजिम नियुक्त भएको र उनले विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) मा जाने माओवादी केन्द्रका नेताहरूले दाबी गरिरहेका छन् भने कांग्रेस–एमालेका नेताहरू भने धारा ७६(२) बमोजिम नै प्रधानमन्त्री नियुक्त हुने बताइरहेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६(३) को सरकार बन्छ भनेर भ्रम सिर्जना गरिएको बताए ।

Advertisement

उनले नयाँ सरकार धारा ७६(२ं) अनुसार नै बन्ने जिकिर गरे । उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाएन भने ७६(३) को सरकार बन्छ भनेर एक प्रकारले भ्रम सिर्जना गर्न खोजिएको छ । यो बेठिक हो । प्रायोजित ढंगबाट बोलिएको विषयवस्तु हुन् । हामी यसमा सचेत छौँ । सर्वोच्चको नजिर र हाम्रो अभ्यासहरू छन् । संविधानको व्यवस्था पनि छन् । नयाँ सरकार धारा ७६(२ं) बमोजिम बन्छ ।’

Advertisement

त्यस्तै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले दुई ठुला दलहरू मिलेर सरकार बनाउँदा कुन धारा अनुसार सरकार बनाउने भन्नेमा संविधान मौन रहेको बताए । उनले ठुला पार्टीहरू मिलेर गरिएको सम्झौतालाई नै संवैधानिक रूपले लिनुपर्ने भन्दै सोही बमोजिम सरकार गठन हुने बताए ।

उनले भने,‘ठुला पार्टीहरू मिलेर जाँदाखेरी कसरी जान्छ, हामीले संविधानमा ठुला पार्टीहरू एकैचोटी मिलेर आए के गर्ने भन्ने कुरामा मौन छ नि, त्यो मौन भएको कारणले यो कुरा उठाएको हो । तर यसले आफ्नो कोर्स लिन्छ । ठुला पार्टीहरू मिलेर सम्झौता गर्छन् भने त्यसैलाई नै संवैधानिक रूपले लिनुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएमा संविधानको धारा ७६(३) बमोजिमको सरकार गठन हुने दाबी गरे ।

उनले भने, ‘संवैधानिक अधिकारलाई फेस गर्छौ भनेको हो । प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छौ भनेको हो । त्यो संसद्प्रतिको जिम्मेवारी हो । भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमहरूको बारेमा पनि प्रस्ट पार्नुहुन्छ, संसदमा फेस गर्नुको कारण के हो भन्ने पनि ठिक ढंगले सम्बोधन गरेर स्पष्ट पार्नुहुन्छ । प्रधानमन्त्रीले राजीनामा दिने कुरा मनोगत हो । मतदान प्रक्रियामा जान्छौँ । संविधानमा स्पष्ट छ, प्रधानमन्त्रीले राजीनामा दिनुभयो भने ७६(२) बमोजिम बन्छ ।

प्रधानमन्त्रीले राजीनामा नदिएर संसदमा र प्रक्रियामा गइसकेपछाडि संविधानले स्पष्ट रूपमा ७६(३) अनुसार जान्छ । भोलिदेखि प्रक्रिया त्यता जान्छ ।’ सांसद सापकोटाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारे । प्रधानमन्त्रीले मतदान प्रक्रियाबाट नै विश्वासको मत लिने उनको भनाई छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया