सिमलताल दुर्घटना : अध्ययन कार्यदलले गर्‍यो गोताखोरसँग छलफल



नागरिक अपडेट


चितवन — सशस्त्र प्रहरीका पानीभित्र गएर खोजी गर्ने जनशक्ति (गोताखोर) ले नदीमा डुबेका बस र यात्रुको खोजी मात्रै गरेका छैनन्, पोखरा सेती खोंचमा दुर्घटनामा परेको जहाजका पाटपुर्जा पनि नदीमा डुबुल्की मारेर बाहिर निकालेका छन् । तर यसरी खोजीमा जुट्ने गोताखोरको अवस्था के छ ?

Advertisement

सिमलतालमा दुई वटा बस पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएपछि त्यसबारे अध्ययन गर्न बनेको कार्यदलसामु खोजी र उद्धारमा उपयोग हुने उपकरणको अवस्था बारेमा चर्चा गरिएको छ । गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको संयोजकत्वमा बनेको अध्ययन कार्यदल प्रतिवेदन लेख्ने अन्तिम तयारीमा छ ।

शुक्रबार चितवन कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयमा आएका कार्यदलका संयोजक रिजालसहितका प्रतिनिधिले गोताखोरदेखि शिक्षालयका अधिकारीसँग छलफल गरेको हो । कुरिनटारमा रहने सशस्त्रको तालिम प्राप्त जनशक्ति विपद्का घटनामा नेपालभर खट्ने गरेको छ ।

‘हामी पानीभित्र धेरै खाले जोखिम उठाएर जान्छौं । गोताखोरले प्रयोग गर्ने नयाँ उपकरण आएका छन् । तर हामी पुरानैको भरमा छौं,’ शिक्षालयका गोताखोर सशस्त्रका सई रमेशबहादुर थापाले भने । शिक्षालयका सहसमादेशक रहेका सशस्त्रका एसपी जनक पुरीले लामो समयदेखि प्रयोग हुँदै आएका गोताखोरका सुट र सामग्री पुरानो भइसकेको बताए ।

Advertisement

‘मोटरबोट पनि अलि शक्तिशाली चाहिँदो रहेछ भन्ने कुरा सिमलताल घटनापछि खोजी र उद्धारमा जुट्दा थाहा भएको छ । पानीको बहाब चिर्न सक्ने मोटरबोट आवश्यक छ । अहिले हामीसँग भएको भन्दा शक्तिशाली आवश्यक देखियो,’ एसपी पुरीले भने ।हाल सशस्त्रले नदीमा हुने खोजी उद्धारका लागि ४० हर्स पावर (एचपी)को मोटरबोट प्रयोग गर्छ ।

योभन्दा दोब्बर नभए पनि कम्तीमा ६० एचपीको मोटरबोट आवश्यक भएको एसपी पुरीले सुनाए । त्यसैगरी खोजी उद्धारमा प्रयोग हुने लाइफ ज्याकेट लगातार १२ घण्टासम्म पानीमा प्रयोग गर्न मिल्ने खालका हुनुपर्ने पनि उनले बताए । अहिले पनि यही गुणस्तरको लाइफ ज्याकेट प्रयोग हुने गरेको छ ।

‘यो गुणस्तरको लाइफ ज्याकेट महंगो छ । महंगो भयो भनेर अर्को खोज्ने कुरा भएको हैन । तर विभिन्न तहले सहयोग स्वरुप लाइफ ज्याकेट दिन्छन् जुन सस्तो छ, बलियो छैन । यस्ता कुरा ख्याल राख्नु पर्ने भएको छ,’ एसपी पुरीले भने । सोनार जस्ता उपकरण पनि विश्व बजारमा आएका नयाँ किन्नुपर्ने र त्यसलाई चलाउने बारे बिक्री गर्ने कम्पनीबाटै तालिमको प्रबन्ध हुनुपर्ने उनको भनाइ छ ।

‘हामीलाई अन्य धेरैखाले उपकरण आवश्यक पर्ने देखियो । सडक आडका नदीको अवस्था अध्ययन गर्न पाए उद्धारका बेला सहयोग पुग्ने देख्छु । नदी कहाँ गहिरो छ, कहाँ कस्ता खाले अवरोध आउन सक्छन् भन्ने जान्न आवश्यक हुँदो रहेछ,’ एसपी पुरीले भने ।

अध्ययन कार्यदलका संयोजक रिजालले छलफलमा उठेका विषय प्रतिवेदनमा समेटिने बताए । ‘उद्धार सामग्रीको धेरै ठूलो ग्याप त देखिएन । तर आधुनिक प्रविधि र विश्वमा प्रचलनमा आइसकेका उपकरण भएनन् भन्ने बुझ्यौं । यो कुरालाई प्रतिवेदनमा इंगित गर्छौं,’ कार्यदलका संयोजक रिजालले भने ।

गत असार २८ गते शुक्रबार बिहानपख नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई वटा बस पहिरोमा परेर सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए । तीन यात्रु सकुशल र १९ जनाको शव फेला परेर सनाखत भएको यो घटनामा त्रिशूलीमा हराएका दुई बस र त्यसमा बगेका ४३ यात्रुको अवस्था अझै अज्ञात छ ।

भारतका प्राविधिकहरु एक साता आएर खोज्दा पनि बसको केही संकेत पत्ता लागेन । असार ३१ मा गठन भएको अध्ययन कार्यदलले दुई/चार दिनभित्रै प्रतिवेदन बुझाउने संयोजक रिजालले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया