गुल्मीः भाद्र महिना सुरु भएसँगै हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तिजको रौनक सुरु भएको छ । गाउँ देखि शहर र बजारसम्म तिजको रौनकताले छपक्कै छोपेको छ । यस समयमा विभिन्न आमा समूह र संघसंस्था तथा क्लबहरुले तिज गीत प्रतियोगिता समेत आयोजना गरिरहेका छन् ।
भाद्र १५ गते शनिबार तिजगीत प्रतियोगिताले रेसुङ्गा नगरपालिका वडा नम्बर १४ चहलपहलमय थियो । नमिलेको भूगोलभित्र गुम्सिएका थुप्रै नारीहरुको वेदनाका पोकाहरु खोलिने दिन थियो त्यो । त्यसैले पनि होला वारीपारी गाउँका मानिसहरुको जमघट थियो । गाउँमा अहिले बसाइँसराईले बस्ती नै खालि हुँदै जान थालेका छन् । गाउँमा बस्ने वृद्धहरुको देहावसानले गाउँ रित्तिदैछ । यस्तो अवस्थामा आजकाल गाउँमा मान्छे जमघट हुन कि मेला र पर्व कुर्नुपर्छ । कित यस्तै सांस्कृतिक जागरणका कार्यक्रम ।
आयातित पश्चिमा संस्कृतिले विषाक्त बनाउँदै लगेको नेपाली समाजमा अहिले मौलिक संस्कृतिको खडेरी सुरु भएको छ । समय पनि फेरिएको छ । हिजो चुल्हो र चौकोमा सीमित नारीहरु अहिले देश-विदेशमा छाइरहेका छन् । चेतनास्तरवृद्धि हुँदै गएको छ ।
तर यस ठाउँ देशमा शासकीय स्वरुप परिवर्तन भएर संघीयतामा गए पनि उस्तै छ । एकाध केही परिवर्तन बाहेक यहाँका जनताका घाँउ यस्तै छन् । निर्वाचनताका नेता आएर घाउलाई च्वास्स हुने गरी घोचीदिन्छन् र फेरी यसलाई हाम्ले नै निको बनाइदिन्छौं भन्ने मिठ्ठो आश्वासनको लड्डु बाँड्छन् । भोट लिएर जान्छन्, यहाँका जनताहरुको ।
सधैं पछाडि परेको यस ठाउँका जनता पनि नयाँ विकासको अनुभूति गर्न पाइने भइयो भनेर मनमनै लड्डु फुटाएर बस्छन् । यस्ता पीडा थुप्रै छन्,यतातिरका । त्यसैले पनि यहाँका पीर र व्यथाहरुलाई सबैका बीच पोख्नुमात्रै छैन्, निर्णायकहरुको मनै जितेर पुरस्कृत पनि हुनुछ ।
यस्तै चाहनाले यहाँका वरपर गाउँका ११ समूह जम्मा भएका छन् । यस्तो अवसर जुराईदिएको थियो, कालिका युवा क्लबले । रेसुंगा नगरपालिका वडा नं.१४ रातामाटाको पहिलो संस्थागत विधि र नीतिसंगत रुपमा सञ्चालित अग्रणी सामाजिक संस्थाका रुपमा यो क्लबले छवि बनाएको छ ।
समय घर्कदै थियो, तर प्रमुख अतिथिको बेस्ततालाई ध्यान दिंदैं कार्यक्रम हतारहतार सुरु भयो । कार्यक्रमको अध्यक्ष ग्रहण गर्नुभएको थियो, क्लबका अध्यक्ष दुर्गाप्रसाद गौतम । प्रमुख अतिथि हुनुहुन्थ्यो, रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर । साथमा वडाअध्यक्ष धनबहादुर पुन बिशेष अतिथि । अन्य विद्यालय तथा सामाजिक संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु अतिथि थिए ।
प्रतियोगिता आयोजना गरिएकाले निष्पक्ष निर्णायक भूमिका निर्वाहका लागि संयोजक हुनुहुन्थो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्री, अनि साथमा सञ्चारकर्मीहरु अनिता खत्री र मनु सुनार । प्रतियोगीहरु दुई मावि विद्यालय र बाँकी आमा समूह र महिला समूह थिए । आयोजना भइरहेको स्थान त्रिभुवन माध्यमिक विद्यालय रातामाटा र छिमेकी पालिका गुल्मीदरबारका प्रतियोगी सहभागी थिए ।
प्रतियोगितालाई बडो रुचीपूर्ण रुपमा हेर्न पराल्मी, बलिथुम, गौडाकोट, लुम्पेक लगायतका स्थानबाट दर्शकहरुको खचाखच भिड देखिन्थ्यो। प्रतियोगितामा नियमअनुसार प्रतियोगीहरुले आ-आफ्नो प्रस्तुति राख्न सुरु गरे । सबै प्रतियोगीहरुले निर्णायक, आयोजक र दर्शकहरुको ध्यान आफ्नो प्रस्तुतितिर तान्ने प्रयासमा थिए । सबै प्रतियोगीहरुको प्रस्तुतिहरुमा नारी बर्बरताका घटना न्यूनिकरण हुन नसकेको घटनाहरुलाई जोडतोड्ले उजागर गरेको देखिन्थ्यो ।
तिज गीतका माध्यमबाट उनीहरुले आफ्नो गाउँ-टोल-समाज देखि विदेशमा पनि नेपाली चेलीहरुमाथि बर्बरताका घटना हुने गरेको विषयलाई आफ्नो, कला, गला, नृत्य र अभिनयका माध्यमबाट बडो गहन रुपमा मुखरित गरेका थिए । कुनै समूहले आमा र छोरीको पात्र निर्माण गरी गीतको माध्यमबाट, कुनै समूहले अभिनय र बीचबीचमा संवादका माध्यमबाट समाजमा घटेका घटनाहरुलाई चित्रण गरिरहेका थिए ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तदेखि, हालै अहिलेसम्म शब पत्ता नलागेको ममता काफ्ले भट्ट सम्मका घटनालाई प्रस्तुतिमा छल्काएका थिए । शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलताका विषयहरुलाई समावेश गरेका थिए । भने उनीहरुले विकासले पछाडि पारिएका स्थानहरुलाई समान र समावेशी विकासको गतिमा लैजान नेतृत्वकर्ताहरुलाई आफ्ना प्रस्तुतिहरुका माध्यमबाट सुझाएका थिए ।
यति मात्र होइन, पछिल्लो समय वैदेशिक रोजगारीले गाउँमा युवाहरुको अभाव भएको, बसाइँसराईले गाउँ रित्तो हुँदै गएको, सामाजिक सञ्जाल र मोबाइल, इन्टरनेटको दुरुपयोगले परस्त्रीगमन देखि साइबर क्राइमका घटनाहरु बढेको जस्ता घटनाहरु आफ्नो प्रस्तुतिमा समावेश गरेका थिए ।
त्यतिमात्र होइन्, उनीहरुले आजका नारीहरु सांसद, मन्त्री, सभामुख देखि राष्ट्रपतिसम्म बनेका ज्वलन्त उदाहरण रहेको उल्लेख गर्दै महिलाहरु आफै पनि उद्यमशिल,स्वरोजगार बन्नुपर्ने र गाउँ/नगरपालिकामा विभिन्न सीपमूलक तालिम सञ्चालन हुने तथा अनुदान पनि पाइने भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले नेपालको कानुन महिलामैत्री बने पनि कार्यान्वयनमा फितलो देखिएको, अहिले पनि नारीहरु कतै सुरक्षित नभएको भन्दै यसतर्फ राज्यका निकायहरुले ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए । प्रमुख अतिथि उपप्रमुख अमृतादेवि कुँवरले स्थानीय क्लब, संघसंस्थाहरुको माध्यमबाट नेपाली मौलिक कलासंस्कृतिको संरक्षणका लागि युवाहरुलाई अग्रसर बनाउनुपर्ने बताउनुभयो ।
बिशेष अतिथि वडाअध्यक्ष धन बहादुर पुनले पनि स्थानीयस्तरमा क्लबले विभिन्न कार्यक्रमका माध्यमबाट संस्कृतिको संरक्षणमा लागेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । निर्णायक संयोजक खुम खत्रीले निणर्य प्रस्तुत गर्दै पछिल्लो समय तिजको मौलिकतापन नासिदैं र मासिदैं जान थालिरहेको अवस्थामा स्थानीय क्लबले यसको संरक्षणका लागि निरन्तर लागि रहेको भन्दै क्लबप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतियोगितामा जागरण महिला समूह रेसुंगा नगरपालिका-१४ प्रथम, रेसुंगा महिला समूह रेसुंगा नगरपालिका १४ द्वितिय, थाक्सी पोखरा माध्यमिक विद्यालय तृतिय र कोट स्वास्थ्य आमा समूह गुल्मीदरबार गाउँपालिका-१ बलिथुम सान्त्वना भएको थियो । जसमा प्रथम हुनेलाई नगद रु.१० हजार र प्रमाणपत्र, द्वितिय हुने समूहलाई नगद रु.८ हजार र प्रमाणपत्र, तृतिय हुने समूहलाई नगद रु.५ हजार र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई नगद रु.२ हजार र प्रमाणपत्रले सम्मान गरिएको क्लबका कोषाध्यक्ष मोहन गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा रेसुङ्गा नगरपालिका-१४ रातामाटा र गुल्मीदरबार गाउँपालिका-१ बलिथुम तथा लुम्पेकका ११ समूहले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा देविस्थान महिला समूह जागरण महिला समूह, भुमिकास्थान महिला समूह, उजेलादेवी स्वास्थ्य महिला समूह, उजेलादेवी महिला समूह, कोट महिला समूह, थाक्सीपोखरा माध्यमिक विद्यालय, रेसुंगा महिला समूह, त्रिभुवन माध्यमिक विद्यालय, उजेलादेवी जनशक्ति आमा समूह, जनजागृति आमा समूहले प्रतिस्पर्धा गरेका थिए । क्लबका उपाध्यक्ष शेर बहादुर मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष दुर्गाप्रसाद गौतमले क्लबले विभिन्न सामाजिक र सहयोगरुपी कार्य पनि गर्दै आएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव लिला ज्ञवालीले गर्नुभएको थियो । रेडियो रेसुङ्गाबाट साभार