सूर्य सुनार,गुल्मी । गुल्मीका किसानले लगाएको सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । सुन्तलामा औँसाको प्रकोप देखिएपछि भाडगाउँका किसान चिन्तित बनेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –३ भाडगाउँका कृषकहरूको बगैँचामा यतिखेर औँसा किरा बोटभरि देखिएका छन् । त्यस्तै छत्रकोट गाउँपालिका –४ श्रृङ्गामा पनि औँसा किरा देखिएको प्रधानमन्त्री कृषि आघुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले जनाएको छ ।
गत वर्ष भाडगाउँमा पाक्ने समयभन्दा अघि नै सुन्तला पाकेको जस्तो देखिने र झर्ने क्रम बढेपछि किसानले कृषि ज्ञान केन्द्रलाई जानकारी गराएका थिए । ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीका अनुसार अनुगमन गर्दा सुन्तलामा औँसाको प्रभाव देखिएको बताउनुभयो । सुन्तलाका बोटहरू सुक्दै जाने, फल पहेलो हुने, किरा लाग्ने जस्ता समस्या देखिएको कृषकको भनाई छ । यस वर्षपनि औँसा किरा देखिएको हुँदा उत्पादन कम हुने भएकाले कृषक चिन्तित छन् ।
प्रधानमन्त्री कृषि आघुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गंगा पोखरेलले जिल्लामा सुन्तलामा देखिएको औँसा किरा रोकथाम र न्यूनीकरणको लागि बाली वस्तु विशेष स्थलगत तालिम दिन सुरु गरिएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख तथा वरिष्ठ बाली कृषि अधिकृत नवराज भण्डारीले एउटा औँसा किराले ५० देखि २ सय वटासम्म किरा पार्ने हुँदा यसको प्रभाव तीव्र फैलिने बताउनुभयो । त्यसकारण जति सक्दो चाँडो नियन्त्रण गर्नु पर्ने बताउनुभयो । औँसा किरा सुन्तला लगायत मौसम, निबुवा, जुनार लगायतका फलमा पनि देखिने गर्दछ ।
गुल्मीको प्रमुख बालीमध्ये सुन्तला एक हो । सुन्तलाका लागि उपयुक्त हावापानी भएकाले यस जिल्लामा सुन्तला सुपर जोन परियोजना सञ्चालनमा छ । गुल्मी जिल्लाको सबै स्थानीय तहमा सुन्तला खेती हुँदै आएको छ । जिल्लामा एक हजार २७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।
यहाँका कृषकहरूको जीविकोपार्जन गर्ने माध्यम सुन्तला उत्पादन हो । सुन्तला बेचेरै यहाँका कृषकहरूले परिवार चलाउँदै आएका छन् । उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ । मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठुलो लुम्पेक, कालीगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुँगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् ।
गुल्मी दरबारको गौडाकोट, जुभुंग, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवनपानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँ गाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् । यी बाहेकका क्षेत्रमा पनि सुन्तला उत्पादन हुने गरेको छ ।