गाउँ गाउँ डुलेर आफ्नो भविष्य खोज्दै जुम्लाका दुई दाजुभाइ



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। विहानको ०६:३० बज्दै छ । जुम्लाका पुण्य बुढा मगर – आयो-आयो जडिवुटी आयो, हिङ, कपुर शिलाजित । ढाड कम्मर दुखेको, सड्केको, मड्केको निको हुने । आमा राख्ने हो ? राख्नु न राख्नु भन्दै गाउँ गाउँ डुल्दै हुनुहुन्थ्यो ।

Advertisement

उहाँलाई साथ दिदै हुनुहुन्थ्यो चिरीलाल बुढा मगर उहाँहरू सहोदर दाजुभाई हुनुहुन्छ । दुई हातमा सामानको पोका र झोला भरी जडिवुटी बोकेर उहाँहरु रेसुङ्गा नगरपालिका-१४ रातामाटामा वेलुकीको बास पछि, एकाबिहानै गुल्मीदरबार-१,बलिथुम फर्किदै हुनुहुन्थ्यो ।घरदेखि हिंडेको हप्तौं बितिसक्दा पनि राम्रो बिक्री नभएपछि उहाँहरू अन्यत्र जाने सोंचमा हुनुहुन्थ्यो।

Advertisement

Advertisement

हिउँद महिनाभरी छिमेकी मुलुक भारत कमाउन जाने र अन्य महिना कमाउनको लागि घर छाडेर यिनै जडिबुटीसँगै सामान बिक्री गर्दै गाउँ गाउँ डुल्ने गरेको-चिरीलाल बताउनुहुन्छ । तर यतिबेला भने ब्यापार राम्रो नभएको गुनासो पोख्नुभयो । गाउँघरका सबै यतिबेला मकै खन्न र मेलापातमा व्यस्त छन् । घर घर पुग्दा बुढा बा आमासँगै घर कुरूवा कुकुर भेटिन्छ , कहाँबाट व्यापार होस् -अर्का पुण्य बुढा भन्नुहुन्छ ।

शिलाजित, हिङ, कपुर, बिरेनुन, यार्सागुम्बा लगायतका जडिबुटी र माला, पोते, औंठि लगायतका समान सहित व्यपारका लागि देशका लगभग सबै जिल्ला पुगेका उहाँहरू गुल्मी झरेर गाउँ गाउँ डुल्ने गरेको १५देखि २० वर्ष भैसकेको बताउनुहुन्छ । कहिलेकाही दिनकै २०देखि २५ हजार सम्म बिक्री हुने गरेको र महिनामा १ लाख देखि डेढ लाख सम्म कमाइ हुने गरेकोले यही पेशाबाट परिवार राम्रै चलेको बताउने पुण्य बहादुर यतिबेला भने भात खाने पैसा समेतको बिक्री नभएको बताउनुहुन्छ ।

दुई हातका सामान भुइँमा राख्दै र झोला बिसाउँदै भन्नुभयो – अबका पिंढिले यस्तो व्यपार नगर्ने र आफूले आफ्ना पुस्तालाई पनि यो व्यपार गर्न दिन्न । खासमा राम्रो व्यपार त भदौ महिना तीज लाग्ने बेलादेखि हुने गर्छ । तर पनि पहिले त बैशाख जेठमा पनि राम्रै व्यपार हुने गर्थ्यो ,अहिले त शुन्य छ । घर पनि कसरी पुग्ने -एक हातले टाउकोको टोपी मिलाउँदै चिरीलाल बुढाले दुखेसो पोख्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया