गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ पराल्मीमा चार दिनदेखि हराइरहेकी ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय कोपिला विकको शव रेसुङ्गा नगरपालिका–१४ सिटडाँडास्थित गोरेटो बाटो नजिक फेला परेको हो ।
कोपिला विक मंसिर ८ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन् । घरबाट निस्किएपछि लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले उनको खोजी गर्दै आएका थिए । चार दिनपछि स्थानीय गोरेटो बाटोनजिक उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेपछि उनका श्रीमान् कृष्ण विकले सनाखत गरेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार उनी सिटडाँडास्थित गोरेटो बाटोमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ । महिलाको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।





