काठमाडौँ । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिनेछ।
यो निर्णय २०२० मा गलवान घटनापछि बिग्रिएको भारत–चीन सम्बन्धमा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ। चीनको विदेश मन्त्रालयले भारतको निर्णयलाई स्वागत गर्दै भनेको छ, “भारतको यो कदम सकारात्मक छ। पर्यटन र आपसी आवागमन दुवै देशका लागि लाभदायक हुनेछन्।”
साथै चीनले भारतसँग सम्पर्कमा रहेर पर्यटन सुधारमा सहयोग गर्दै आएको पनि उल्लेख गरेको छ। कोरोना महामारी र गलवान झडपपछि दुवै देशले एक–अर्कामाथि वाणिज्य र यात्रासम्बन्धी कयौँ प्रतिबन्ध लगाएका थिए। तर जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिन थालेको हो।
त्यसअघि अक्टोबर २०२४ मा रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङबीच पाँच वर्षपछि औपचारिक भेटवार्ता भएको थियो। त्यसपछि द्विपक्षीय सम्बन्ध विस्तारतर्फ उन्मुख हुँदै गएको देखिएको छ।