ह्वाट्सएपले ल्यायाे नयाँ फिचर: फोटो, भिडिओ र मेसेजसमेत सेड्युल गर्न मिल्ने



नागरिक अपडेट


काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले अब प्रयोगकर्ताले चाहेको मिति र समयमा स्वतः सन्देश पठाउन मिल्ने नयाँ सुविधा ल्याएको छ । ‘सेड्युल्ड मेसेज’ नाम दिइएको यो फिचरमार्फत अब प्रयोगकर्ताले पहिले नै मेसेज तयार गरेर १० मिनेटदेखि १४ दिनसम्मको समय निर्धारण गरी पठाउन सक्नेछन् ।

Advertisement

कम्पनीले आफ्नो आधिकारिक ब्लगमार्फत यो सुविधा सार्वजनिक गरेको हो । लामो समयदेखि प्रयोगकर्ताले माग गर्दै आएको यो फिचर व्यक्तिगत तथा ग्रुप च्याट दुवैमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Advertisement

ह्वाट्सएपकाे यो सुविधा प्रयोग गर्न सम्बन्धित च्याट खोलेर आफूले पठाउन चाहेको मेसेज टाइप गर्नुपर्छ । त्यसपछि ‘सेन्ड’ बटनलाई केही समय थिचेर मेसेज पठाउन चाहेको मिति र समय छनोट गर्न सकिन्छ । समय निश्चित गरेपछि उक्त मेसेज तोकिएको समयमा स्वतः डेलिभरी हुनेछ ।

Advertisement

सेड्युल गरिएको मेसेज प्राप्त गर्ने व्यक्तिले पनि अन्य सामान्य मेसेज सरहनै देख्नेछन् । अर्थात्, उक्त मेसेज पहिले नै निर्धारित समयमा पठाउन तयार गरिएको हो भन्ने छुट्टै जानकारी प्राप्तकर्तालाई देखाइने छैन । यो सुविधा टेक्स्ट मेसेजमा मात्र सीमित छैन । प्रयोगकर्ताले फोटो तथा भिडिओसमेत निश्चित मिति र समयमा पठाउने गरी सेड्युल गर्न सक्ने ह्वाट्सएपले जनाएकाे छ ।

साथीभाइ वा आफन्तको जन्मदिनमा मध्यरातमै शुभकामना पठाउन अथवा फरक समय क्षेत्रमा रहेका व्यक्तिलाई उनीहरूका लागि उपयुक्त समयमा मेसेज पठाउन यो सुविधा उपयोगी हुनेछ । ह्वाट्सएपकाअनुसार प्रयोगकर्ताले आफूले सेड्युल गरेका मेसेजको सूचीसमेत हेर्न सक्नेछन् । आवश्यक परे निर्धारित समय आउनुअघि नै त्यस्ता मेसेज हटाउन पनि सकिनेह्वाट्सएपले बताएकाे छ ।

यस सुविधाको अर्को विशेषता भनेको मेसेज पठाउने समयमा प्रयोगकर्ताको फोन अन वा इन्टरनेटमा जोडिएको हुनुपर्ने छैन । फोन बन्द भएको वा ब्याट्री सकिएको अवस्थामा समेत सेड्युल गरिएको मेसेज निर्धारित समयमा स्वतः जाने कम्पनीले जनाएको छ ।

त्यस्तै सेड्युल गरिएका मेसेज पनि अन्य व्यक्तिगत मेसेजजस्तै ‘एन्ड-टु-एन्ड इन्क्रिप्सन’ प्रविधिबाट सुरक्षित रहनेछन् । यसले गर्दा मेसेज पठाउने र प्राप्त गर्ने व्यक्तिबाहेक अन्यले त्यसको सामग्री पढ्न सक्ने छैनन् ।

कम्पनीले यो सुविधा विश्वभरका प्रयोगकर्तालाई क्रमशः उपलब्ध गराउने जनाएको छ । हाल सबै प्रयोगकर्ताको ह्वाट्सएपमा यो सुविधा एकैपटक उपलब्ध नहुन भने सक्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया