काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्र्तक्रिया नगर्ने बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् । उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेन शाहको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे ।
उनले भने, ‘रवि लामिछानेको अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वीको अभिव्यक्ति हो कि बालेन शाहको मौनता हाम्रो प्रतिद्वन्द्वी हो ? रवि लामिछानेको अभिव्यक्ति खास हो भने तयारी गरौँला, उसको मौनता अर्कै छ । के छ ? के छ ? यो जासुसी उपन्यासका पात्रहरु जस्तो छ । अदृश्य छ । न देख्न सकिन्छ, न बोल्छ । न अन्र्तक्रिया गर्छ । न प्रकट हुन्छ । के गर्छ ।’
भट्टराईले विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा यस्तै सम्झौता गर्दा विरोध हुने गरेको तर बालेन शाहको भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेकोप्रति आशंका व्यक्त गरे । उनले अदृश्य टुनामुना तन्त्रमन्त्र धेरै दिन नटिक्ने तर्क गरे ।
भारत भ्रमणको प्रसंग निकाल्दै उनले भने, ‘यस्तै खालको भ्रमण, यस्तै खालको डकुमेन्ट केपी ओलीले, प्रचण्डले वा शेरबहादुर जीले गरेको भए यहाँ उहाँहरु पुत्ला जलाइन्थ्यो । आज बालेनजी भ्रमण गरेर आउनुभयो, भयंकर नेपाल भारत सम्बन्धमा डिपार्चर गर्नुभयो, एकदमै सिफ्ट गर्नुभयो भनेर बुद्धिजिवीहरु पसिना निकालेर प्रशंसा गरिरहनुभएको छ ।
यी नै बुद्धिजिवीहरु अघि मैले भनेका तीन जना नेताले भ्रमण गरेर आएको भए कालोमसो दल्न पर्छ भन्थे । त्यसकारण यो अदृश्य छ । टुनामुना गरिरहेका छन् । तन्त्र लगाइराखेका छन् । तर सधैँ यस्तो टुनामुना त चल्दैन नि त । टुनामुना चल्दैन, नक्कली जोगिहरुले एकदिन ठग्छ, दुई दिन ठग्छ के हामीलाई । तर तेस्रो दिन ठग्न सक्दैन ।’
भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्न सर्वोच्चका बाहालवाला न्यायधीशको संयोजकत्वमा न्यायीक आयोग बनाएर छानबिन गर्नुपर्ने धारणा राखे । उनले आगामी स्थानीय चुनावमा गुटबन्दीभन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहकै सिफारिसका आधारमा उम्मेदवार छान्नुपर्ने बताए ।





