झारफुकका नाममा किशोरीलाई लछारपछार गरेको भाइरल भिडियोका झाँक्री पक्राउ



नागरिक अपडेट


काठमाडौं । जुम्लामा झारफुक गरेर निको पार्ने भन्दै १४ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा जुम्लाको गुठिचौर गाउँपालिका-१ का अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन् । उनलाई मङ्सिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी चौकी मणिसाँघुका इन्चार्ज यमबहादुर थापाका अनुसार घटना मङ्सिर पूर्णिमाको मेला लाग्ने समयमा स्थानीय थानमा भएको हो । किशोरी केही दिनदेखि बिरामी रहेको र परिवारले नै उनलाई झारफुक गराउन त्यहाँ लगेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ ।

Advertisement

थापाका अनुसार किशोरीको शरीरमा अन्य कुनै गम्भीर चोटपटक भने देखिएको छैन र उनको अवस्था सामान्य रहेको छ । सामाजिक सञ्जालमा फैलिएको भिडियोमा झाँक्रीको भेषमा रहेका एक व्यक्तिले किशोरीलाई कपालमा समातेर तान्दै भुइँमा लडाएको देखिन्छ ।

नजिकै आगो बलिरहेको र त्यसमा केही तताइएको दृश्य पनि भिडियोमा छ । घटनास्थलमा केही महिला तथा पुरुष उपस्थित भएर उक्त गतिविधि हेरिरहेको देखिन्छ । पृष्ठभूमिमा ढ्याङ्ग्रो र झ्याम्टालगायतका बाजा बजिरहेको सुनिन्छ ।

झारफुकका नाममा किशोरीमाथि गरिएको उक्त दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि घटनाबारे चासो बढेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया