बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने



रासस


काठमाडौँ । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । संघअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो ।

Advertisement

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति संघले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो ।

Advertisement

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरुबाट उक्त दिन १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने छ ।

Advertisement

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिकाहरु अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् ।

दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरुको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । आइएपिबीका अनुसार हाल विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा उपचार आवश्यक पर्ने दृष्टिसम्बन्धी समस्या छ ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरणमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता सङ्गठन आइएपिबीले संयुक्त रुपमा मनाउन सुरु गरेको यो दिवस मनाउन थालेको थियो ।

यो बर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोबर १० तारिख (असोज २४ गते) बिहीबारका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया