काठमाडौँ । आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फर व्यावसायिक क्रिकेटमा लगातार पाँच बलमा पाँच विकेट लिने पहिलो पुरुष खेलाडी बनेका छन्। उनले इन्टर-प्रोभिन्सियल टी–२० ट्रफीमा मन्स्टर रेड्सबाट नर्थ–वेस्ट वारियर्सविरुद्ध यो कीर्तिमान बनाएका हुन्।
२.३ ओभरमा उनले १६ रन खर्चेर ५ विकेट लिए। मन्स्टर रेड्सका कप्तानसमेत रहेका क्याम्फरले आफ्नो दोस्रो र तेस्रो ओभरमा यो सफलता हासिल गरे। १८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्स ८७ रनमा ५ विकेटको स्थितिबाट ८८ रनमा अलआउट भएको थियो।
क्याम्फरले लिएका पाँच विकेटमध्ये पहिलो विकेट जारेड विल्सनको थियो । १२औँ ओभरको पाँचौँ बलमा विल्सनको अफ स्टम्प उडाउँदै क्याम्फरले पहिलो विकेट लिए। अर्को बलमा ग्राहम ह्युमलाई एलबीडब्लु आउट गरेपछि क्याम्फर ह्याट्रिकमा पुगे।
त्यसपछि १४औँ ओभरको पहिलो बलमा एन्डी म्याकब्राइनले सट खेल्न खोज्दा डीप मिडविकेटमा क्याच आउट भएर ह्याट्रिक पूरा गरे। उनको विकेट लिने क्रम जारी रह्यो जब १०औँ नम्बरका ब्याट्सम्यान रोबी मिलर पहिलो बलमै विकेटकिपरबाट क्याच आउट भए। त्यसपछि ११औँ नम्बरका ब्याट्सम्यान जोस विल्सनको स्टम्प उडाएर उनले लगातार पाँचौँ विकेट लिए।
आफ्नो यो उपलब्धिको बारेमा क्याम्फरले भने, ‘ओभर परिवर्तन भएकोले के भइरहेको छ भन्नेमा म निश्चित थिइनँ। मैले आफ्नो सामान्य प्रदर्शनलाई निरन्तरता दिएँ र भाग्यवश त्यो सफल भयो।’
टी-२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा चार विकेट लिने सीमित बलरहरूको सूचीमा रहेका क्याम्फर पाँच बलमा पाँच विकेट लिने पहिलो व्यक्ति भने होइनन्। यो कीर्तिमान जिम्बाब्वेको महिला टोलीकी अलराउन्डर केलिस एनढ्लोभुको नाममा पनि छ । उनले २०२४ मा घरेलु टी-२० प्रतियोगितामा जिम्बाब्वे यू-१९ बाट ईगल्स वुमनविरुद्ध पाँच बलमा पाँच विकेट लिएकी थिइन्।






