प्यूठानमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क कृतिम हातखुट्टा



पत्रपत्रिकाबाट


प्यूठान । गौमुखी गाउँपालिका-७, नारिकोटका भोजे थापाको दायाँ खुट्टा छैन । एउटा खुट्टा नहुँदा बैशाखीको सहारामा हिँडडुल गर्नुहुन्थ्यो । ६५ वर्षीय थापाको दैनिक अहिले सहज बनेको छ ।

Advertisement

भारतको जयपुरस्थित भगवान् महावीर विकलाङ्ग सहायता समितिमा कृतिम खुट्टा जडान गरिएपछि थापाको दैनिकीमा सहजता भएको हो । निःशुल्क रूपमा कृतिम खुट्टा राखेपछि धेरै सजिलो भएको उहाँले बताउनुभयो । “हिँडडुल गर्न बैशाखीको सहयोग चाहिन्थ्यो” उहाँले भन्नुभयो, “अब सजिलो भएको छ ।” निःशुल्क रूपमा उक्त सुविधा पाएकाले खुसी र हौंसला दुवै मिलेको उहाँले बताउनुभयो ।

Advertisement

कृतिम हातखुट्टा राखेपछि अपाङ्गता भएका व्यक्तिहरू ।

गौमुखी अपाङ्ग सेवा सङ्घको आयोजना तथा गौमुखी गाउँपालिकाको आर्थिक सहयोगमा पालिका भित्रका १६ जना अपाङ्गता भएका व्यक्तिको कृतिम हात तथा खुट्टा व्यवस्थापन गरिएको हो । हात र खुट्टा नभएका व्यक्तिहरू पहिचान गरेर निःशुल्क रूपमा जडान गरिएको गौमुखी अपाङ्ग सेवा सङ्घका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।

Advertisement

“हाम्रो संस्थाले सहजीकरण गरेको थियौं” अध्यक्ष केसीले भन्नुभयो, “यातायात र खानाबासको व्यवस्थापन गर्न पालिकाले सहयोग गरेको हो” उहाँले भन्नुभयो । गौमुखी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा पुनस्थापना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

विगत दुई आर्थिक वर्षदेखि नियमित रूपमा उक्त कार्यक्रम सञ्चालन गरिँदै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो । कृतिम हातखुट्टा आवश्यक पर्ने व्यक्तिहरूका लागि समेत पालिकाले आर्थिक सहयोग गरेको उपाध्यक्ष रानाले बताउनुभयो । गोरखापत्र अनलाइन

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया