भुवन भुसाल,गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु गरिएको छ । बुधबार देखि भुमि समस्या समाधान आयोग र छत्रकोट गाउँपालिकाको सहकार्यमा जग्गा नापजाँच सुरु गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनुभयो ।
जग्गाको नापजाँच वडा नं ५ को खर्ज्याङबाट सुरु गरिएको छ । छत्रकोट गाउँपालिकामा १ सय २८ अव्यवस्थित बसोबासी छन भने १३ परिवार भुमिहिन दलित र भुमिहिन सुकुम्बासी रहेका छन । यो आर्थिक वर्षभित्र ८२ जनाले जग्गाधनी लालपुर्जा प्राप्त गर्ने गाउँपालिकाका नापी सर्वेक्षक आशिष् पन्थीले बताउनुभयो ।
अहिले नेपाल सरकारले एलानी, प्रति र व्यक्तीको नाममा फिल्डबुक दिने गरि काम अगाडि बढाएको छ । यो संगै छत्रकोट गाउँपालिका गुल्मी जिल्लामा जग्गा नापजाँच सुरु गरिएको पहिलो स्थानीय तह भएको छ । १० दिन भित्र नापजाँचको काम सकेर तत्कालै लालपुर्जा बितरण सुरु गरिने अध्यक्ष पण्डेयले बताउनुभयो ।
जग्गाको नापजाँच गरि लालपुर्जा समेत पाईने भएपछी यहाँका भुमिहिन र अव्यवस्थित बसोवासीमा खुशी छाएको छ । आफू संग जग्गा भएर पनि लालपुर्जा बिहिन हुनुपर्दा व्यापार व्यवसाय लगायतका लागि बैंक कर्जा समेत लिनबाट समेत बन्चित बन्नुपरेको थियो ।