काठमाडौँ । प्रतिकूल मौसमको कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित गोसाईंकुण्डमा डुबेर ज्यान गुमाएका दुई जनाको शव काठमाडौँ ल्याउन समस्या भएको छ ।
लगातारको वर्षाको कारण सो क्षेत्रमा हेलिकप्टर पुग्न असम्भव भएपछि सोमबार शव काठमाडौँ पठाउन समस्या भएको रसुवाका डीएसपी हेम बहादुर शाहीले बताए ।
आइतबार स्नान गर्ने क्रममा मोरङ बेलबारी घर भएका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल डुबेर बेपत्ता भएका थिए । उनीहरूको शव तीर्थ यात्री बस्न बनाइएको पाटीमा राखिएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
बेपत्ता दुई जनाको शव सेनाको श्रीनाथ गण सुरक्षा पोस्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले सोमबार बिहान गोसाईंकुण्डबाट निकालेको हो । मौसम सफा भएपछि शव पोष्टमार्टका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी शाहीले जानकारी दिए ।