गंगु कुँवर मगर,गुल्मी। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार मनाइँदैछ । आजको दिन घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । साथै नागको थान स्थापना गरि नाग लाई दूधधार दिई कुखुरा , परेवा, बोका लगाएत जनावरको बलि दिएर पनि नाग पूजा गरिन्छ । नागको पूजा गर्दा विभिन्न नाम मध्ये विशेषतह: काली नाग र सेती नाग मानी बलि दिइन्छ ।
यसरी पूजा गरि नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास समेत रहिआएकोछ । त्यस्तै प्रायः ले आजको दिन नागको थान, पानीका मुहान र खेतबारीका खोल्सा खाल्सीमा मकैका बोट चढाएर मकैवाली घर घरमा भित्र्याउने चलन पनि छ । मकैवाली घर घरमा भित्र्याउनु अघि मकै मुख जुठो गर्ने चलन छ जसमा पोलिएको मकैलाई घिउमा सांदेर कुमारी कन्या लाई उत्तर (हिमाल ) तर्फ फर्काएर खुवाए पछी परिवारले खाने चलन छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको र वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ ।जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता समेत हाम्रो समाजमा रहिआएको छ ।
आजको दिन ब्राह्मण (पुरोहित)बाट नागका बाह्र नाम भए पनि आठ कूलका आठ नाग अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई पूजाआजा गरी घर घरमा गएर नागको तस्वीर टांसिदिने चलन छ ।