गुल्मीको मुसिकोटमा दोस्रो पेंगा कप भलिबल प्रतियोगिता हुने



नागरिक अपडेट


केशव खड्का,जापान। गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगामा दोस्रो पेंगा कप २०८२ खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पेंगा युवा क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १२ र १३ गते क्लबकै खेलमैदानमा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

Advertisement

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ हिन्दू धर्मावलम्बीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रतियोगिता गर्न लागिएको हो। यसअघि पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि यसपटक प्रतियोगिता अझ व्यवस्थित र आकर्षक बनाइने आयोजकले जनाएको छ।

Advertisement

प्रतियोगितामा देशभरका विभिन्न टोलीहरूको सहभागिता रहनेछ। खेलकुदलाई मात्र नभई स्थानीय पर्यटन प्रवद्र्धन, आपसी भाईचाराको सम्बन्ध विस्तार तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष विजय जीसीले बताए। उनका अनुसार खेलकुदमार्फत युवालाई गलत बाटोबाट बचाउँदै समाज निर्माणमा सक्रिय बनाउन पनि यो प्रतियोगिताले सहयोग पुर्‍याउनेछ।

Advertisement

विजेता टोलीले नगद रु. ३०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले रु. २,००० दर्ता शुल्क तिर्नुपर्नेछ। दर्ता गर्ने अन्तिम मिति भदौ १२ गतेसम्म रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा अध्यक्ष विजय जीसीसँगै खेल संयोजक राजु पाण्डे, रोशन रायमाझी र अर्पण रायमाझी सक्रिय रहेका छन्। उनीहरूले प्रतियोगिता सफल बनाउन सम्पूर्ण स्थानीयबासी, खेलप्रेमी र सरोकारवालाहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

यस्तो खालको प्रतियोगिता आयोजना भएपछि स्थानीय युवामा खेलप्रतिको उत्साह बढ्ने, प्रतिभा उदाउने र भलिबल खेलको स्तर उकासिने अपेक्षा गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया