काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले असोज १ गतेदेखि सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनी गरेको निर्णयको विरोध गरेको छ ।
महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ- ‘देशमा कुनै पूर्वाधार निर्माण नगरी विदेशी कम्पनीसँगको सहकार्यमा गरिएको यस्तो एकपक्षीय निर्णयले सम्पूर्ण यातायात व्यवसाय र आम नागरिकमाथि अनावश्यक आर्थिक बोझ थपिएको छ।’
महासंघले इम्बोस्ड नम्बर प्लेट जडानसँगै सवारीसाधन तथा चालक–धनीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा पुग्ने भन्दै राष्ट्रिय सुरक्षा र गोपनीयतामाथि खतरा बढ्ने चेतावनी दिएको छ।
महासंघले सार्वजनिक, पर्यटन, ढुवानी र निजी क्षेत्रका सम्पूर्ण यातायात व्यवसायी तथा नागरिकलाई यस्तो अव्यवहारिक इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध समेत गरेको छ।