गुल्मी, गुल्मीको मालिका गाउँपालिकामा चट्याङ लागेर तीन जना महिला घाइते भएका छन् भने तीनवटा बाख्रा मरेका छन्।
शुक्रबार दिउँसो करिब २:३० बजेको समयमा मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङमा चट्याङ पर्दा स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएका हुन्। घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ।
उनको छाती, नाक र आँखामा चोट लागेको र बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अन्य दुई जनाको अवस्था भने सामान्य रहेको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी वामी टक्सारस्थित लुम्बिनी वामी हस्पिटल पठाइएको र हाल उनीहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।
पशुचौपायाको क्षति चट्याङकै कारण स्थानीय विष्णु खड्काको एउटा बाख्रा र बाली विश्वकर्माका दुईवटा बाख्रा गरी कुल ३ वटा बाख्रा मरेका छन्।





