काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
सापकोटाकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा उजुरी दिएको आयोग स्रोतले सिधाकुरालाई जानकारी दियो । ‘उहाँको परिवारका तर्फबाट इनम सापकोटाको जीवन रक्षा र मानव अधिकारको रक्षाको माग गर्दै निवेदन परेको छ,’ आयोग स्रोतले सिधाकुरासँग भन्यो।
आयोगका अनुसार उजुरी प्राप्त भएपछि दर्तासमेत भइसकेको छ। सापकोटा नेपालमा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलियाको भूमिका खेलेको आरोपमा अनुसन्धानमा छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँच गर्ने क्रममा अदालतका मुद्दा मिलाइदिने र प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देश फेला परेको भनिएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।





