गुल्मी । गुल्मीमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सहायक सडक विस्तारको क्रममा फालिएको माटोले मुख्य सडकको कालोपत्रे भत्काएर यात्रा कष्टकर बनाएको छ ।
वर्षाले सहायक सडक विस्तारका क्रममा फालिएको माटो बगाएर मुख्य सडकमा थुपार्न थालेको छ । कालोपत्रे बाटोमा माटो, हिलो थुप्रिंदा साना, ठूला सवारी साधनलाई यो खण्ड पार गर्न समस्या हुन थालेको छ । दुई पाङ्ग्रे साधन चलाउन नसकिने भएको छ ।
मुख्य सडकमा थुप्रिएको हिलो हटाउन सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरिएको इस्मा गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए ।
यो खण्ड भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधन आवतजावत गर्छन् ।