गुल्मी – गएराती भल पसेर गुल्मीको एक विद्यालयमा पुर्ण क्षति पुगेको छ ।जिल्लाको चन्द्रकोट गाउँपालिका–८ कालिकागाउँ स्थित बालबिकास आधारभूत विद्यालयमा क्षति पुर्याएको हो ।
विद्यालय परिसर नजिकै बग्ने खोल्साबाट अनियंत्रित भएर आएको भलले भौतिक संरचनामा पुर्ण क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक नीता रानाले जानकारी दिइन् । प्रधानाध्यापक रानाका अनुसार विद्यालय र कक्षा कोठामा पानी र भल पसेको छ । भल कक्षा कोठामै पसेपछि विद्यार्थी बसेर पढ्ने वातावरण नभएकाले बुधबार विद्यालय बन्द गरिएको छ ।
विद्यालयमा निर्माण गरिएका संरचना र विद्यार्थीको सिकाइमा आवश्यक पर्ने शैक्षिक सामाग्रीलाई भलले पुरेको छ । विद्यालय बन्द गरेरे भल तर्काउने पुरेका सामाग्री निकाल्ने काम स्थानीयको सहयोगमा भएको प्रधानाध्यापक रानाले बताइन् । उनले माटो र ढुङ्गा सहित गेग्रेटा धेरै भएकाले विद्यालयका टिन र बेञ्च निकाल्न कठिन परेको बताइन् ।
पुनः सोही विद्यालयमा भएको क्षतिको व्यावस्थापन गरेपनी यो बर्खायामको समय भएकाले त्यहाँ विद्यार्थीको पठनपाठनमा थप समस्या देखिएको स्थानीयको भनाइ छ । दुई वर्षअघि मोटरबाटो खनिएसंगै गतवर्ष पहिरो खस्दा पनि यस विद्यालयमा केही क्षति पुगेको स्थानीय बताउँछन् ।
ठूलो पानी परेको समयमा आउने भलले बिद्यालयमा पटक – पटक क्षति हुँदै आएको छ । त्यस स्थानमा पुनः विद्यालय सञ्चालन गर्न नसकिने भन्दै अन्य सुरक्षीत स्थान खोज्न जरुरी रहेको प्रधानाध्यापक रानाले बताइन् ।
बालबिकास आधारभूत विद्यालयमा हाल ४० जना विद्यार्थी अध्ययनरत छन् । गाउँमा जनजातीको बाहुल्यता भएकाले यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कुमाल समुदायका छन् ।
कक्षा कोठामा हिलो पसेकाले डेस्क र बेन्च नै पुरेको चन्द्रकोट गाउँपालिका -८ का वडाध्यक्ष फणिन्द्र राज अर्यालले जानकारी दिए । बिगत दुईबर्ष अघिपनि भल पसेर विद्यार्थीको पठनपाठन तथा विद्यालयमा क्षति पुर्याएको वडाध्यक्ष अर्यालले बताए ।
´विद्यालय भन्दा माथिको भूगोल अत्यन्तै जोखिम रहेकोले तत्काल पसेको गेग्रेटो र भल नियन्त्रणमा कठिन देखिएको छ` ´वडाध्यक्ष अर्यालले भने` पहिरो र भलको जोखिम नियन्त्रणका लागि गाउँपालिका र प्रदेशले सहयोग गरेपनि बर्षातको समयमा यस्तो समस्या विद्यालयले भोग्दै आएको छ ।
विद्यालय भन्दा माथिको भूगोल अत्यन्तै जोखिम र तत्काल भलको नियन्त्रण गर्न नसकिने भएकाले बिहिवारदेखि स्थानीयको घरमा राखेर विद्यार्थीलाई पठाउने तयारी भएको प्रधानाध्यापक रानाले जानकारी दिइन् ।