गुल्मी – गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका – ४ छल्दीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रायढुङ्गामा दुर्घटना भएको हो ।
ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडानम्बर २ का ६ वर्षीय शिव वि.क को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो । उनलाई उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परेर २६ वर्षीय चालक दिपक गोतामे र सहचालक १९ वर्षीय राज कुमार विक गम्भीर घाइते भएका छन् ।चालक गोतामे धुर्कोट गाउँपालिक – ५ बस्तुका हुन् भने सहचालक बाग्लुङ्गको वडिगाड गाउँपालिका घर भई हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर ९ उपल्लो तम्घासमा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार मृतक बालक टिकाराम वि.क का छाेरा हुन् । बालकको सहचालकसँग दाजुको नाता पर्ने भएकोले बिगत ३ दिनदेखी तम्घासमा बस्दै आएका थिए । मृतक विक दाजुसङ्ग ट्याक्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर तम्घास- सिमलटारी पक्की सडकबाट ६०/७० मिटर तल खसेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।