बुटवल । चक्कु प्रहारबाट घाइते भइ उपचाररत युवकको मृत्यु भएको छ । बुटवलको कालिकापथमा रहेको रेस्टुरेन्टमा कार्यरत बुटवल–७, निवासी ३६ वर्षीय रवि थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य हुन् । थापामाथि गत जेठ २ गते साँझ रेस्टुरेन्टमा आएका दुई जनाले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । थापाको बुटवलको चौराहा अस्पताल र पछिल्लो समय त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकोमा मंगलबार निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।
थापाको मृत्युपछि राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरेको छ । घटना लगत्तै परिवारले प्रहरीमा निवेदन दिए पनि डेढ महिनासम्म पक्राउ नपर्नुले प्रहरी अनुसन्धानप्रति प्रश्न उठेको संघका अध्यक्ष विकासजंग बस्नेतले बताए ।
घटनामा संलग्नलाई तत्काल पक्राउ गरी पीडितलाई क्षतिपूर्तिसहित आवश्यक कानुनी कारबाही गर्न युवा संघले माग गरेको छ । घटनामा संलग्नहरूको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने डीएसपी पण्डितले बताए ।