पुख्र्यौली पाखोबारीमा लिची बगैंचा : लिची बेचेर लाखौं आम्दानी गर्दै



नागरिक अपडेट


मनोज कार्की, गुल्मी : परिवारको खुसी र रोजगारीका लागि गुल्मी सेउघाका नवराज कुँवर २०७१ सालमा खाडी मुलुक साउदी पुगे। कहिल्यै परदेशी जीवनको सपना नदेखेका कुँवरले २० महिना साउदीमै बिताए। अप्ठ्यारो काम र कम तलबका कारण उनी छोटो समयमै स्वदेश फर्र्किए।

आफ्नै देशमा केही गर्ने हुटहुटी बोकेर गाउँ फर्किएका उनी अहिले कृषि कर्ममा रमाइरहेका छन्। कुँवरले रेसुंगा नगरपालिका–४ चिदियारास्थित पुख्र्यौली पाखो र बाँझो जग्गा जमिनमा सयौं लिची रोपेका छन्। कुनै समय जनशक्ति अभावका कारण बाँझिएको जग्गा अहिले लिची बगैंचामा परिणत भएको छ।

कुँवरले रोपेका सयौं बोटमा आधा बढीले गतवर्षदेखि उत्पादन दिइरहेका छन्। लटरम्म फलेको लिची पाकेर यतिबेला उनको बगैंचा राताम्मे छ। आजभोलि नवराजको दैनिकी नै फेरिएको छ। उनी बिहान सबेरैदेखि बेलुका अबेरसम्म लिची बगैंचामा भेटिन्छन्। उनले नवदुर्गा फलफूल तथा तरकारी फार्म दर्ता गरेका छन्।

फार्ममा अहिले ५/६ जना मौसमी कामदारले दैनिक रोजगारी पाएका छन्। बगैंचामा उत्पादन भएको लिची टिप्न र बेच्न कुँवरलाई भ्याइनभ्याइँ छ। उनले उत्पादन गरेको लिची तम्घास, सिमलटारी, बर्बोटलगायतका स्थानीय बजारमा खपत हुँदै आएको छ। लिची प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री भइरहेको उनी बताउँछन्। ‘पहिले देशमा सम्भावना नदेखेर परदेश पसियो, अनेकौं दुःख, कष्ट भोगियो तर, आफूले सोचे अनुरूप सफलता हासिल गर्न कहिल्यै सकिएन,’ उनले भने,’ ‘अहिले गाउँमै फर्किएर कृषि कर्म गरेको छु, हरेक समयमा आउने अप्ठ्यारा परिस्थितिमा परिवारको साथ सपोट पाएको छु त्यही नै मेरो र परिवारको खुसी बनेको छ।’

छ वर्षपहिले रोपेका आधाभन्दा बढी लिचीले गत वर्षदेखि उत्पादन दिन सुरु गरेका हुन्। अहिले उनको पाखोबारी लिची बगंैचामा परिणत भएको छ। कुनै समय उनको कर्मलाई गिज्याउने र रोपेको बिरुवा गोडिदिनेहरू पनि अहिले बगंैचामा लटरम्म फलेको लिची र आम्दानी देख्दा दंग छन्। मेहेनत गरे स्वदेशमै मनग्ये आम्दानी गर्न सकिने कुँवर बताउँछन्। लिची एकैपटक पाक्ने भएकाले छिटो यसलाई बजारसम्म पुर्‍याउनुपर्ने उनले बताए।

‘गुल्मीको लिची गुलियो र राम्रो दाना हुने भएकाले यसको स्थानीयदेखि काठमाडौं बजारमा माग बढ्दो छ’ कुँवरले भने,’ ‘उपभोक्ताको मागअनुसार जिल्लामा उत्पादन हुन सकेको छैन्, यो वर्ष लामो समय परेको खडेरीको असर उत्पादनमा देखिएको छ।’ उनले झन्डै २० रोपनी जग्गामा लिची रोपेका छन्।

लिची खेतीसँगै घर वरपरका बारीमा मौसमी तरकारी खेती र गाउँमै होटल सञ्चालन गरेका छन्। ‘श्रीमतीले होटल चलाएकी छन् मैले कृषि कर्म गरेको छु दुवैबाट भएको आम्दानीले छोराछोरीको पढाइ र दैनिकी चलाउन सहज भएको छ। उनले सुनाए। ‘आजभोलि धेरै पैसा कमाउने र समाजको देखासिकीले पासपोर्ट बोकेर एयरपोर्टमा विदेशी युवाको संख्या दैनिक बढ्दो छ। सरकारले कृषिलाई प्राथमिकता दिएर नीति ल्याए पनि त्यो कार्यक्रम वास्तविक कृषक समस्या पुग्न सकेको छैन्।

खाडी मुलुकमा गर्ने मेहनत आफ्नै देशमा खर्चिने हो भने स्वदेशमै थुप्रै सम्भावना मात्रै छैनन्। यहाँ मनग्ये आम्दानी गर्न सकिन्छ।’ उनले भने— ‘पछिल्लो समय गुल्मीका ग्रामीण क्षेत्रका कृषकको लिची व्यावसायिक लिची खेतीमा आकर्षण बढ्दै गएको छ। लिचीको बजारमा राम्रो माग र उचित मूल्य भएकाले पनि यसको उत्पादनमा यहाँका कृषकको दैनिक आकर्षण बढिरहेको पाइन्छ। लिची उत्पादनका लागि गुल्मीको थोर्गा, च्युरेक, थानापती प्रसिद्ध मानिन्छन्।

सन् १९९१ मा समाजसेवी स्वर्गीय पण्डित डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट लिचीको बिरुवा बोकेर ल्याएर च्युरेकमा यस खेतीको सुरुवात भएको थियो। ज्ञवालीकै प्रेरणाले सुरुमा खान र परीक्षणका लागि लिची रोपिएको थियो। तर, यसले परीक्षणमै राम्रो उत्पादन दिएपछि यहाँका कृषकले व्यावसायिक खेती सुरु गरिएको यहाँका अगुवा कृषक बताउँछन्।

लिची बेचेर आम्दानी गर्दै कृषक
रुरुक्षेत्र गाउँपालिकाको थोर्गा, च्युरेक, थानापती क्षेत्र सिंगो लिची गाउँमा परिणत भएका छन्। सरकारले यी ठाउँलाई लिची गाउँको रूपमा नामकरण गरेको छ। यहाँका कृषकले लिचीबाट मनग्ये आम्दानी गर्दै आएका छन्। लिची बिक्री गरेको भएको आम्दानीले छोराछोरी पढाइ र घरखर्च चलाउन सहज भएको रुरुक्षेत्र गाउँपालिका– १ थोर्गा च्युरेकका नवराज ज्ञवालीले बताए। गतवर्षको तुलनामा यसवर्ष लिची कम फले पनि उपभोक्ताबाट राम्रो मूल्य पाएपछि यो पटक राम्रै आम्दानी भएको उनले सुनाए।

यतिबेला थोर्गा, च्युरेकर थानापती र गाउँका कृषकलाई राताम्मे पाकेका लिची टिप्न र बिक्री गर्ने भ्याइँनभ्याइ छ। यी क्षेत्रमा पाका पुस्ताले करिब ८० वर्षपहिले परम्परागत शैलीमा सुरु गरिएको लिची खेती विगत केही वर्षदेखि व्यावसायिक बन्न थालेको छ। लिचीको बजारमा माग बढेसँगै पछिल्लो समय नयाँ पुस्ताको खेती र विस्तारमा आकष्लिफ्ट खानेपानी आयोजनाको ८० प्रतिशत विद्युत् महसुल पालिकाले भुक्तानी गर्र्ने ाण बढ्दै गएको छ।

कुनै समय ग्रामीण क्षेत्रका किसानले पाखो र बाँझो बारीमा रोपेका लिचीको अहिले बगंैचा नै बन्न थालेका छन्। घरबारीको छेउछाउँमा रोपेको लिचीबाट गुल्मीका सयौं घरपरिवारले जीविकोपार्जन गरिरहेका छन्। लिची गाउँमा ६० वर्ष पुराना लिचीका बोट देख्न पाइन्छ। त्यही पुराना तथा नयाँ बोटले आम्दानी दिइरहेका छन्। अहिले लिचीले उत्पादन दिन थालेपछि कतिपय कृषकको आम्दानीको स्रोत बनेको छ। यी क्षेत्रका कृषकको आम्दानीको मुख्य स्रोत नै लिची बनेको सोही वडाका कृषक परमानन्द ज्ञवालीले बताए।

राज्यले लिचीमा देखिएका समस्या पहिचान गरी समाधान गर्न र कृषकलाई आवश्यक ज्ञान, सीप, तालिम र प्रोत्साहनका कार्यक्रम सञ्चालनमा ल्याउन जरुरी रहेको उनी बताउँछन्। लिचीमा बाँदरलगायतका जंगली जनावरले कम सताउने गरे पनि रोग र किराका कारण लक्ष्यअनुसारको उत्पादन गर्न नसकिएको कृषकको गुनासो छ। उनीहरूले उत्पादन गरेको लिची बोटबाटै प्रतिकेजी एक सयदेखि डेढ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ। बुटवल पोखरा र काठमाडौंका व्यापारी होलसेल खरिदका लागि कृषककै बगैंचामा पुग्ने गरेका छन्।

कृषकको बगैंचाबाट लिची खरिद गरेका व्यापारीले बजारमा डेढ सयदेखि २ सय ५० रुपैयाँसम्म बेचिरहेका छन्। कुँवर जस्तै विभिन्न पेसा व्यवसाय र परदेशबाट युवाहरू फर्किएर गाउँमै उद्यमी बन्ने प्रयास गरिरहेका छन्। यस चालू आर्थिक वर्षमा यहाँका कृषकले लिची बेचेर करोडौं आम्दानी गरेको जनप्रतिनिधि घनश्याम ज्ञवालीले जानकारी दिए।

यहाँका कृषकको जीविकोपार्जनको मुख्य स्रोत लिची रहेको बताउँदै यो समयमा लिची खरिद गर्न विभिन्न सहरबाट आउने गरेको उनले सुनाए। सरकारले दिएको नामलाई चिनाउन र कृषकलाई थप व्यावसायिक बनाउन तीनै तहका सरकारले उचित कार्यक्रम सञ्चालन गर्न सके लिची हबका रूपमा जिल्लालाई चिनाउन सकिने जनप्रतिनिधि ज्ञवालीले बताए।

गत वर्ष लिचीको फल र बोटमा लागेको रोग र किराका कारण कृषकले मार खेप्नु परेको थियो। कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको पहलमा त्यसको निवारणका लागि विभिन्न कदम चालिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार बगैंचा व्यवस्थापनको अभावमा केही वर्षयता लिची उत्पादन घटिरहेको छ।

यो वर्ष कृषकलाई निःशुल्क ३.५ मेट्रिकटन प्रांगारिक मल वितरण, बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखराको सहकार्यमा लिचीमा लाग्ने रोग र किराको गत वर्षदेखि अनुसन्धान सुरु गरिएको छ। कृषकलाई आवश्यक पर्ने निःशुल्क भर्‍याङ, विषादी तथा शूक्ष्मतत्त्वलगायत प्राविधिक सेवा दिइरहेको कार्यालय प्रमुख भण्डारीले बताए।

यस वर्ष लिची उत्पादन घट्यो
विगतका वर्षको लिची बढी फलेको र यस वर्ष लामो खडेरी परेकाले लिचीको उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाभर १ सय ८९ हेक्टर क्षेत्रफलमा यसको खेती गरिएको छ। यस वर्ष उत्पादन ५ सय ३७ टन लिची उत्पादनको अपेक्षा राखिएको छ। गत वर्षभन्दा यो वर्ष उत्पादन करिब १७ प्रतिशतले कम भएको छ। यस वर्ष १ करोड ४ लाखबराबरको उत्पादन हुने सरकारी तथ्यांकमा उल्लेख छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया