बुटवल — पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा मंगलबार साँझ दुई युवतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको ज्यान गएको हो।
उक्त स्कुटरमा तीन जना सवार थिए। चालक कपिलवस्तु बाणगंगा–७ बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन्। दुर्घटना साँझ करिब ८ बजेतिर भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
घाइतेहरूलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए भने घाइते चालकको उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





