काठमाडौँ — देशका मध्य र पूर्वी भूभागका धेरै ठाउँमा हिजो दिउँसो र राति वर्षा भएपछि गर्मी केही कम भएको छ। वर्षासँगै प्रदूषण पनि घट्दा सर्वसाधारणलाई राहत मिलेको छ । तर पश्चिम तराईका धेरै ठाउँमा भने वर्षा नहुँदा चर्को गर्मी कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो मौसम रहने सम्भावना छ । तर भोलिदेखि भने देशका अन्य भागमा जस्तै पश्चिम तराईमा पनि वर्षा हुने सम्भावना रहेकाले गर्मी घट्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।
भोलि भने सबै प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजो गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनीका थोरै ठाउँ तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षासहित चट्याङ परेको थियो । केही ठाउँमा हावाहुरीसमेत चलेको थियो ।
महाशाखाका अनुसार यो हप्ता देशभर बदली र वर्षाको सम्भावना कायम रहनेछ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।





