काठमाडौँ — कक्षा १२ को परीक्षा सोमबारदेखि सञ्चालन हुँदै छ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा सकिएको डेढ महिना (४५ दिन) भित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ । २७ वैशाखमा परीक्षा सकिनेछ ।
बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ परीक्षार्थी छन् । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १ सय ३७ छात्रा र २९ जना अन्य छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३९ विद्यार्थीले परीक्षा दिँदै छन् । काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६४ हजार ३ सय ३८ र मनाङमा सबैभन्दा थोरै ३१ परीक्षार्थी छन् ।
गत वर्षको तुलनामा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार यो वर्ष १ हजार ४ सय २१ परीक्षा केन्द्र तोकिएका छन् । गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी थिए । त्यतिबेला परीक्षा केन्द्र भने १ हजार ५ सय ९१ वटा थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ (माथिल्लो तह अध्ययनका लागि योग्य) भएका थिए, जुन नतिजा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले सुधार हो । ग्रेडवृद्धि परीक्षाको नतिजामा पनि सुधार देखिएकाले यो वर्ष आंशिकतर्फ विद्यार्थी संख्या घटेको बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षा गराउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४४ हजार ३ सय ४ जना परिचालन गरिँदै छ । उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको परीक्षा नियन्त्रक शर्माले बताए । प्रश्नपत्र भने कोभिड महामारीदेखि नै अनलाइनबाट पठाउन थालिएको छ । परीक्षा सञ्चालन हुने दिन नै अनलाइनबाट प्राप्त प्रश्नपत्र परीक्षा केन्द्रमा प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिने प्रहरीको रोहबरमा प्रश्नपत्र ‘डाउनलोड’ र ‘प्रिन्ट’ गरी वितरण गरिन्छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलले डेढ महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएअनुसार परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनको तयारी गरिएको सदस्यसचिव जंगबहादुर अर्यालले बताए । ‘उत्तरपुस्तिका परीक्षण केन्द्र थप्छौं । त्यहीअनुसार मातहतका निकायमा परिपत्र गर्दै छौं,’ उनले भने, ‘चाँडो नतिजा प्रकाशन गर्न सबै संयन्त्र परिचालन हुन्छन् ।’
उत्तरपुस्तिका परीक्षण गत वर्ष जस्तै बोर्डले तोकेको केन्द्रमा मात्र गरिनेछ । यसअघि ९० दिन (३ महिना) भित्र नतिजा प्रकाशन हुँदै आएको थियो । कक्षा १० (एसईई) को उत्तरपुस्तिका भने यो वर्ष परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो । एसईईको नतिजा परीक्षा सकिएको १ महिना (वैशाख मसान्त) भित्रै प्रकाशन गर्ने तयारी छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक ‘इन्ट्री’ र रुजुको काम भइरहेको छ ।
परीक्षार्थीले मोबाइल फोन प्रयोग गरे परीक्षा रद्द
कक्षा १२ का विद्यार्थी परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि नै परीक्षा केन्द्रमा पुग्नुपर्ने बोर्डले जनाएको छ । बिहान ८ देखि ११ बजेसम्म देशभरका परीक्षा केन्द्रमा एकै समयमा परीक्षा सञ्चालन हुने समयतालिका छ । ‘परीक्षा सुरु भएको १५ मिनेटपश्चात् उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी गराइने छैन,’ समयतालिकामा भनिएको छ ।
परीक्षार्थीलाई परीक्षा केन्द्र परिवर्तन गरेर सहभागी हुन रोक लगाइएको छ । मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस परीक्षा हलमा लैजान निषेध गरिएको बोर्डले जनाएको छ । ‘परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्णतः निषेध गरिएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्ता सामग्री लगे परीक्षाको मर्यादा भंग गरेको आरोपमा शिक्षा ऐनअनुसार कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । परीक्षार्थीले मोबाइल फोन प्रयोग गरे सबै विषयको परीक्षा रद्द गरिने बोर्डले जनाएको छ ।
परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था हुनेछैन । परीक्षालाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । समितिले परीक्षाको अनुगमन र पर्यवेक्षण गर्ने बोर्डले जनाएको छ ।
प्रदेशको शिक्षा हेर्ने मन्त्रालयका सचिव अध्यक्ष रहने प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र बोर्डका प्रदेश तथा शाखा कार्यालयहरूले समेत अनुगमन गर्ने व्यवस्था गरिएको छ । विराटनगर, लहान, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी, डडेलधुरा र काठमाडौंमा बोर्डका प्रदेश र शाखा कार्यालय छन् । कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको बोर्डले जनाएको छ ।





