गुल्मीको मालिकामा आगलागी हुदा एक घर पूर्वरूपमा जल्यो



नागरिक अपडेट


गुल्मी : गुल्मीको मालिका गाउँपालिका – ७ घमिर सिलादीको एउटा घरमा शनिबार राति आगलागी भएको छ । आगोले स्थानीय गोठी सुनारको घर जलेको हो । राती एक्कासि घर जल्दा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सुनारको ढुङ्गा, माटो र खरको छानो भएको २ तले कच्ची घरमा राति १०:३० बजेतिर आगोलागी भएको हो । आगलागी घटनाको खबर पाएपछि मर्भुङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घर पूर्वरूपमा क्षति भएको छ भने घरभित्र राखिएको अन्नपात, काठ दाउरा, लत्ताकपडा, नागरिकता, लालपुर्जा र नगद ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार घटनामा मानवीय र चौपाया क्षति भएको छैन । घमिर सिलादीमा १६ घरपरिवार सुकुमबासी लामो समयदेखि बस्दै आएका छन् । सुनार पनि सुकुमबासी हुन् । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

घर जलेर पुर्ण क्षति भएपछि सुनार छोराको घरमा बसेकी छन् । केही दिन यता लगातार भइरहेको अविरल वर्षाका कारण आगोले ठूलो क्षतिबाट बस्ती नै बचेको स्थानीयको भनाइ छ ।आगलागी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया