जहाज दुर्घटनाका मृतकको २ घण्टापछि पोस्टमार्टम सुरु हुने, आफन्तले ३ दिनपछि शव पाउने



नागरिक अपडेट


काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ ।

Advertisement

मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्ने अस्पतालका एक अधिकारीले जानकारी दिए । ‘फिंगर प्रिन्ट टोली, डीएनए टोलीलाई सबैलाई खबर गरेका छौं । सबै टोली आएपछि र एयरलाइन्सको प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गर्छौं’ उनले भने, ‘यो सबै तयारी गर्दा २ घण्टा लाग्छ ।’

Advertisement

सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताए । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् ।

Advertisement

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ भने पाइलट शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीसहित १८ जना यात्रु र पाइलट मनिष शाक्य गरी १९ जना थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया