ढाका । हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छाडेकी छन् । प्रधानमन्त्री हसिना बंगलादेश छाडेर भारत पुगेकी छन् । प्रधानमन्त्री हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् । विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने बताइएको छ ।
हसिनाले देश छाडेलगत्तै प्रदर्शन थप हिंसात्मक भएको थियो । ठाउँ ठाउँमा निकै ठुला लुटपाट र आगजनीका घटना भएका छन् । ढाकामा हजारौंको जुलुस निस्किएको थियो । सो जुलुस प्रधानमन्त्री निवास पुगेर तोडफोडमा उत्रिएको थियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री कार्यालयका सामान उठाएर लगेका दृष्यहरु सञ्चारमाध्यामहरुले प्रसारण गरेका छन् ।
प्रसारण भएका दृष्यहरुमा प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासका सोफामा बसेर सेल्फी लिइरहेका देखिन्छन् । प्रदर्शनकारीहरुले ढाका शहरमा रहेको शेख हसिनाका पिता अर्थात बंलादेशका संस्थापक मुजीबुर्हमानको शालिक ढाल्ने कोसिस समेत गरेका थिए । उनीहरुले हसिना र उनका गृहमन्त्रीको आवासमा समेत तोडफोड गरेका छन् ।
यहि बीचमा बंगलादेशका सेना प्रमुखले प्रदर्शनकारीहरुलाई शान्त रहन अपील गरेका छन् । उनले देशमा अन्तरिम सरकार बनाउने र सबै पक्षसँग वार्ता गर्ने समेत बताएका छन् । बंगलादेशको पछिल्लो परिस्थितिप्रति बेलायत र युरोपियन युनियनले चिन्ता जाहेर गर्दै लोकतन्त्र जोगाउन तत्काल कदम चाल्न आह्वान गरेका छन् ।
सरकारले ल्याएका आरक्षण कोटाविरुद्ध त्यहाँका विद्यार्थीहरुले जुलाईदेखि आन्दोलन थालेका थिए । सो आन्दोलनका क्रममा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । सो आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री शेख हसिनाले सेना परिचालन गरेकी थिइन् ।
आइतबारदेखि विद्यार्थीहरुले अवज्ञा आन्दोलनको आह्वान गरेका थिए । सो आह्वानमा सबै सरकारी कर नतिर्न सर्वसाधारणलाई अपील गरिएको थियो । सो आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो भने सोमबार २० जनाको मृत्यु भएको छ ।
हिंसात्मक आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले आइतबार नै राजीनामा दिने मनस्थिति बनाएकी थिइन् । उनका छोरा साजिब वाजिद रोयले बीबीसीसँगको कुराकानीका क्रममा सो कुराको पुष्टि गरेका छन् ।