खातामा थियो १ करोड ३३ लाख,उपचार खर्च नभएर गुमाए ज्यान



नागरिक अपडेट


काठमाडौं। काठमाडौं महानगरपालिका– १० शंखमूलका ७२ वर्षीय राजेन्द्र स्थापितको उपचारका क्रममा वीर अस्पतालमा शनिबार बिहान मृत्यु भयो । परिवारले रकम जम्मा गरेको सहकारीबाट पैसा निकाल्न नपाएको र रकमको अभावमा स्थापितको मृत्यु भएको दाबी गरेको छ ।

Advertisement

स्थापितले जीवनभर कमाएको एक करोड ३३ लाख रुपैयाँ न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा राखेका थिए । तर, जीवनको उत्तरार्धमा उनले आफ्नै पैसासमेत निकाल्न पाएनन् । सहकारीले उपचार गर्ने न्यूनतम रकमसमेत उपलब्ध नगराउँदा उनको ज्यान गएको परिवारजनको भनाइ छ ।

अचानक बेहोस भएपछि उनलाई श्रीमती ६४ वर्षीय ताद्रीबाबा बज्राचार्यले मंगलबार वीर अस्पताल लिएर गएकी थिइन् । परीक्षणपछि उनको ‘ब्रेन ह्यामरेज’ भएको खुलेको थियो । त्यसलगत्तै अस्पतालले उनलाई आइसियू (इन्टेन्सिभ केयर युनिट)मा भर्ना गरेको थियो । तुरुन्तै अप्रेसन गर्नुपर्ने भन्दै चिकित्सकले उनकी श्रीमती ताद्रीबाबालाई रकम जम्मा गर्न भनेको थियो ।

तर, उनले भर्ना गरेको चार दिनसम्म पनि रकम जम्मा गर्न सकिनन् । र, उनको अप्रेसन हुन सकेन । सोही कारण उनको मृत्यु भएको आफन्तको भनाइ छ । सहकारी अभियन्ता तथा दाहसंस्कारमा सहभागी कुशलभ केसीले अप्रेसनका लागि रकम जम्मा गर्न नसकेकै कारण राजेन्द्रको मृत्यु भएको बताए । ‘अप्रेसनका लागि रकम जम्मा गर्न भनिएको रहेछ ।

Advertisement

तर, उनले रकम जम्मा गर्न सकिनन् । अस्पतालले पनि अप्रेसन गरेन । सोही कारण अस्पताल भर्ना भएको चार दिनपछि उनको शनिबार बिहान मृत्यु भयो,’ केसीले भने । पतिलाई अस्पताल भर्ना गरेर ताद्रीबाबा न्युरोडस्थित सहकारीको कार्यालय पुगेकी थिइन् । उनले सहकारी सञ्चालक किसन राईसँग पाँच लाख रुपैयाँ मागेकी थिइन् ।

तर, राईले रकम दिएनन् । सहकारीपीडित कार्यालयमा नै धर्ना बसेपछि उपचार खर्च लिएर अस्पतालमा नै उपस्थित हुने भन्दै राईले प्रतिबद्धता जनाएका थिए । तर, रकम नदिएको आफन्तको भनाइ छ । ताद्रीबाबा उपचार खर्च जुटाउन नसकेर तनावमा थिइन् । यसैक्रममा शनिबार बिहान चिकित्सकले ‘तपार्इंको श्रीमान् बचाउन सकिएन’ भनेर सुनाएका थिए ।

ताद्रीबाबा नेपाल बैंककी अवकाश प्राप्त कर्मचारी हुन् । उपदानबापतको केही रकम उनले सहकारीमा राखेकी थिइन् । शोकमा रहेकी ताद्रीबाबा अहिले घर जाने अवस्था छैन । श्रीमान्को किरिया रत्नपार्कस्थित शान्ति बाटिकामा बस्ने निष्कर्षमा पुगेकी छिन् । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल भने अप्रेसनका क्रममा राजेन्द्रकी श्रीमतीसँग रकम नमागिएको दाबी गर्छन् ।

‘राजेन्द्रलाई ब्रेन ह्यामरेज भएको रहेछ । उनलाई चार दिनअघि अस्पताल भर्ना गरिएको हो । उहाँको कन्डिसन निकै कमजोर थियो । अप्रेसन हुन सकेन । उहाँको मृत्यु भयो । अप्रेसनका लागि हामीले उहाँको परिवारसँग रकम मागेको होइन,’ उनले भने । नयाँ पत्रिकाबाट साभार 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया