चिर्पट प्रहारगरि श्रीमानको हत्या,एकै घरका तीन जना पक्राउ



नागरिक अपडेट


रुकुम–पश्चिम – रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् ।

Advertisement

पक्राउपर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

Advertisement

उनका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी निरीक्षक शाहीको नेतृत्वमा आज बिहान प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना शङ्कास्पद देखिएपछि प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको खुलेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

Advertisement

“प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बुढाले मादक पदार्थ सेवन गरेर सन्तोषकी श्रीमतीलाई अपशब्द बोलेर हातपात गरेको र त्यसको प्रतिकार गर्ने क्रममा सन्तोषकी श्रीमतीले दाउराको चिर्पटले प्रहार गर्दा बुढाको मृत्यु भएको खुलेको छ”, प्रहरी निरीक्षक शाहीले भने, “यसमा सन्तोषको पनि संलग्नता देखिएको छ, थप अनुसन्धानबाट खुल्नेछ ।”

घटनास्थलको प्रारम्भिक अनुसन्धान सकाएर शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया