टिकटकको आठौं पत्रपछि प्रतिबन्ध खुलाउने संकेत,क्याबिनेटमा प्रस्ताव लगिँदै



नागरिक अपडेट


काठमाडौं- सरकारले प्रतिबन्धको ८ महिनापछि चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकट खुलाउने संकेत दिएको छ । सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालको सबै नियम-कानुन मान्न तयार रहेको र त्यहीअनुसार नियमन गर्दा हुने आशयको पत्र पठाएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

Advertisement

त्यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आवश्यक परामर्श र छलफल अघि बढाएका छन् । मन्त्री गुरुङको सचिवालयका अनुसार टिकटकले नेपालको कानुनअनुसार सम्बन्धित निकायमा दर्तादेखि करसम्बन्धी कानुन पनि मानेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने गरी छलफल थालिएको हो ।

Advertisement

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । खास गरी एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ता शान्ति बरालबारेका आपत्तिजनक सामग्री भाइरल भएपछि टिकटलाई सरकारले निशाना साँधेको थियो।

Advertisement

त्यसबेला यी दुईजनासँग सम्बन्धित कन्टेन्ट भाइरल भएपछि सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अब प्रचण्डले सरकार छाडिसकेपछि सत्तामा फर्किएका केपी शर्मा ओली क्याबिनेटले फेरि टिकटकलाई खुलाउने निर्णय लिन लागेको हो । टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हटाउनेतर्फ सरकार अघि बढेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले पछिल्लो पटक पठाएको पत्रका आधारमा मन्त्री गुरुङ पनि प्रतिबन्ध खुलाउन लचिलो भएका हुन् । अब सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध हटाउने तयारी थालेको छ । त्यसका लागि क्याबिनेटमा प्रस्ताव लैजाने गरी तयारी थाल्न सञ्चारमन्त्री गुरुङले कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पनि टिकटको पछिल्लो पत्रका आधारमा खुलाउँदा हुने जनाउ दिएपछि तयारी थालिएको हो । मन्त्री गुरुङले आवश्यक अध्ययन र प्रक्रिया पूरा गरेर खुलाउने गरी तयारी थाल्न कर्मचारीहरूलाई भनेका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया