रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै



नागरिक अपडेट


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

Advertisement

२०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो । सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ । यस्तो अवस्थामा आसन्न स्थानीय तह निर्वाचन लड्ने कि नलड्ने भनेर पार्टीले रणनीतिक छलफल केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको बुर्लाकोटीले बताए।

‘मूलतः रणनीति तय गर्ने विषय नै हो । पार्टीले चुनावमा कसरी भाग लिने वा नलिने‚ उम्मेदवार के गर्ने भन्ने विषयमा छलफल हुन्छ‚’ बुर्लाकोटीले भने‚ ‘अघिल्लो बैठकमा नै छलफल गर्नुपर्ने थियो । तर‚ समय अभावका कारण सम्भव भएन । आजको बैठकमा समग्र विषयमा छलफल हुन्छ ।’

निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा ठिक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ । आयोगले उपनिर्वाचनलाई ध्यानमा राखेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन साउन २९ गते सूचना जारी गर्दै सार्वजनिक आह्वान गरिसकेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया