पछिल्लो डेड महिनामा चार ठुला दुर्घटना, ७४ जनाको मृत्यु,४० भन्दा बढि बेपत्ता



नागरिक अपडेट


काठमाडौँ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस खस्दा २७ जना ज्यान गुमाए । भारतीय ७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । बसमा चालक र सहचालक सहित ४३ जना सवार थिए ।

Advertisement

सिमलतामा भएको दुर्घटनासँगै पछिल्लो ४३ दिनमा दुईवटा सडक र दुईवटा हवाई दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाएका छन् । असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

साउन ९ मा काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । साउन २३ मा एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए ।

सिमलताल दुर्घटना

Advertisement


त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स बस अहिलेसम्म भेटिएको छैन । असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका हुन् । बसमा सवार २५ जनाको शव भेटिएको छ । बस र त्यसमा सवार ४० जना अझै बेपत्ता छन् ।

नेपाली सेना र सशस्त्रका गोताखोर तथा भारतीय विशेषज्ञ टिम ल्याएर खोजी गर्दा पनि बस फेला परेको छैन । त्रिशूलीको उच्च बहाव र चिसो पानीमा सुरक्षाकर्मीहरुले बस खोज्न नेपालमा उपलब्ध उच्च प्रविधिको प्रयोग गरे । भारतीय विशेषज्ञ र सशस्त्र प्रहरीका गोताखोरले सोनार प्रविधिको प्रयोग गरेर खोजी गरे । भारतीय विशेषज्ञले सोनारको अत्याधुनिक प्रविधि ल्याएर त्रिशूलीमा खोजी गरेका हुन् ।

धमिलो पानिले असर नगर्ने सोनार प्रविधिमार्फत पानीमा ट्रान्ससेन्डर पठाएपछि राडार सिस्टममा आकृति देखाउँछ । सोनारले स्क्रिनमा पठाउने आकृति यकिन गर्न सुरक्षा अधिकारीहरूले चुम्बकको प्रयोग गरेका थिए । तर, अहिलेसम्म दुईवटा बस र ४० यात्रुको अवस्था अज्ञात छ ।

सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले ‘प्राकृतिक प्रकोपको कारण दुर्घटना’ भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।

सौर्य एयरलाइन्स दुर्घटना

९ साउनमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना स्थल/फाइल तस्वीर

सिमलताल दुर्घटनाको १२ दिनपछि साउन ९ मा काठमाडौँमा विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटना हुँदा विमान व्यवस्थापन समूहका ५ जना सहित १८ जनाको मृत्यु भएको हो ।

पोखरा उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ह्याङ्गर पछाडिको खाली भागमा खसेको थियो । विमानका क्याप्टेन मनिष शाक्य उपचारपछि घर फर्केका छन् । तर, विमानमा सवार १८ जनाको मृत्यु भयो ।

सौर्य एयरलाइन्सको चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल, चिफ अप अपरेसन्स मनिष रत्न शाक्य र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्मा विमानमा सवार थिए । उनीहरूमध्ये क्याप्पटेन मनिश रत्न शाक्य बाँच्न सफल भए ।

मृत्यु हुनेमा विमानका को–पाइलट सुशान्त कटुवाल, अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा छन् ।

एयर डाइनेस्टी दुर्घटना


एयर डाइनेस्टीको हेलिकप्टर साउन २३ मा नुवाकोटको शिवपुरीमा दुर्घटना भयो । रसुवाको स्याफ्रुवेशीका लागी उडेको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र ४ जना चिनियाँले ज्यान गुमाए । मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुदाङ टाङ, जी ली, यियाद बु र जेमिङ सी छन् ।

मर्स्याङ्दीमा २७ तीर्थयात्रीको मृत्यु


तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबै जना भारतीय नागरिक हुन् । भारतीय ७६२३ नम्बरको बसमा सवार २७ जना भारतीय नागरिकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले बताए ।

४३ जना सवार बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । तीर्थयात्रामा हिँडेका उनीहरूको समूहमा ९८ जना थिए । अन्य यात्रुहरू फरक गाडीमा सवार थिए । मृतकहरूको शव चितवनमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम गरेर परिवारलाई शव हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया