कालिका युवा क्लबको आयोजनामा तिज गीत प्रतियोगिता हुने



नागरिक अपडेट


गुल्मी। स्थापनाकाल देखि सामाजिक कार्यमा क्रियाशिल गुल्मीको रेसुंगा नगरपालिका-१४ रातामाटामा रहेको कालिका युवा क्लबले तिज गीत प्रतियोगिताको आयोजन गर्ने भएसँगै तयारीलाई तिव्र पारेको छ । क्लबले हिन्दुधर्मालम्बी महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा बृह्त तिज गीत प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतियोगिताका लागि क्लबले मिति पनि तय गरिसकेको छ ।

Advertisement

क्लबका अध्यक्ष गौतमका अनुसार यहि भाद्र १५ गते शनिवारका दिन पारेर उल्लेखीय सहभागिता गराउने उद्देश्यका साथ तिज गीत प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । त्रिभुवन माध्यमिक विद्यालय रातामाटाको प्राङ्गणमा आयोजना गरिने प्रतियोगिताका माध्यम मार्फत मौलिक कला, संस्कृतिको संरक्षणको जगेर्ना गर्ने प्रमुख उद्देश्य रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुन आयोजकले रु. ५ सय रूपियाँ दर्ता शुल्क तोकेको छ । प्रतियोगितामा स्थानीयस्तरका महिला समूह, आमा समूह, क्लबहरु, विद्यालयहरू तथा सम्पुर्ण संघ-संस्थाहरूलाई प्रतियोगितामा सहभागिताको लागि क्लबले आग्रह गरेको अध्यक्ष गौतमले बताउनुभयो ।

उत्कृष्ट प्रतियोगीहरुलाई क्लबले पुरस्कारको पनि व्यवस्था गरेको छ । गीत र नृत्य मौलिक संस्कृति झल्किने, विकृति विसङ्गति न्यूनीकरण गर्ने र जनचेतनामूलक प्रस्तुतीलाई बिशेष प्राथमिकता दिने अध्यक्ष गौतमको भनाई छ ।

Advertisement

निर्णायक मण्डलहरुको निणर्य अनुसार प्रतियोगीमध्ये प्रथम हुने समहुलाई नगद रु.१० हजार र प्रमाणपत्र, द्धितीय हुने प्रतियोगीलाई रु.८ हजार र प्रमाणपत्र, तृतीय हुने प्रतियोगीलाई रु.५ हजार र प्रमाणपत्र र सान्त्वना हुने समुहलाई रु.२ हजार र प्रमाणपत्रले सम्मान गरिने क्लबकी सचिव लिला ज्ञवालीले जानकारी दिनुभयो ।

औपचारिक रुपमा स्टेजमा प्रतियोगीले आफ्नो प्रस्तुति राख्न सकिने क्लबले जनाएको छ । त्यस वडाको सबैभन्दा अग्रणी क्लबका रुपमा परिचित कालिका युवा क्लबले सामाजिक कार्य तथा खेलकुद र मौलिक संस्कृतिको संरक्षणका लागि विगत लामो समय देखि क्रियाशिल रहँदै आएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया