विपद उद्धारका लागि १० हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन



नागरिक अपडेट


काठमाडौँ । विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीले १० हजार ५ सयभन्दा बढी सुरक्षा फौज परिचालन गरेको छ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लाहरूमा भएको घटनाहरूमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीले १० हजार ५ सय ४० जना जनशक्ति परिचालित गरेको हो ।

Advertisement

सशस्त्र प्रहरीले बाढी, पहिरो र डुबानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरिएको जनाएको छ भने ७६ जनाको मृत्यु, ७२ जना बेपत्ता, ३६ जना घाइते भएको जनाएको छ । सशस्त्र प्रहरीका अनुसार १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ ।

Advertisement

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करिब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको समेत सशस्त्र प्रहरीले जनाएको छ । उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना बेपत्ता र १५ जना घाइते भएको समेत सो सङ्गठनले जनाएको छ ।

Advertisement

यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको समेत प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले कोसीमा १० जनाको मृत्यु, ९ जना बेपत्ता र २ जना घाइते भएको जनाएको छ ।

मधेस प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको समेत जनाएको छ । मधेसमा १० स्थानमा भौतिक क्षति र १ जना बेपत्ता भएको सशस्त्रले जनाएको छ ।

यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको समेत सशस्त्र प्रहरीले जनाएको छ । बागमतीमा २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना बेपत्ता भएको सो सङ्गठनले जनाएको छ । यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढीमा परी २ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया