काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । उद्धारकर्ताहरुले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको उनको भनाइ छ । पहिरो गएपछि शनिबारदेखि त्रिभुवन राजपथ अन्तरगतको उक्त सडक अवरुद्ध थियो । शनिबार बिहान गएको पहिरोमा गाडीहरू पुरिएका थिए । उद्धारकर्ताहरूले आइतबार साँझसम्म ३५ जनाको शव फेला परेको जनाएका छन् ।
पहिरोमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको विंगर जिप र चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख १३४५ नम्बरको हायस पहिरोमा पुरिएको थियो । यस्तै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको ना४ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा परेको थियो । यसैगरी बा१प १३८८ नम्बरको बससमेत क्षति पुगेको थियो ।
पहिरोमा पुरिएको विंगर जिपमा सवार ८ जना पुरुष, ५ जना महिला र एक जना बच्चा गरी १४ जना, हायसमा सवार १२ जना पुरुष र ४ जना महिला तथा बसमा सवार ५ जना पुरुष यात्रुहरू पहिरोमा पुरिएका थिए ।
हिरोमा पुरिएकाहरूको सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य गरेको हो । सडक खुलेसँगै जामका बिच सवारीसाधन गन्तव्यतर्फ लाग्न थालेका छन् ।