ओमानविरुद्ध नेपाललाइ ३७ रनको फराकिलो जित



नागरिक अपडेट


काठमाडौं – क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ।क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हरायो। नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो।

Advertisement

नेपालले दिएको १७७ रनको जवाफमा ब्याटिङमा गरेको ओमान ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १३९ रनमा सीमित भयो। ओमानका सोहेब खानले सर्वाधिक ४५ रनको योगदान गरे। यसैगरी, रफुलाले १२ बलमा ३३ तथा फ्रेयज बटले अविजित रहँदै ६ बलमा १७ रन जोडे।

Advertisement

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए।

Advertisement

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रनको योगफल खडा गरेको थियो। झाले अविजित रहँदै १७ बलमा ४० रनको विस्फोटक पारीलाई ऐरीले ५ बलमा १८ रन जोडेर साथ दिएका थिए।

नेपालका कुशल मल्लले ३० तथा अनिल शाह र आसिफ सेखले समान २७ रनको योगदान गरे। ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए। गुल्सन म्यान अफ दि म्याच बनेका छन्। आठ खेलपछि नेपालको यो पहिलो जित हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया