काठमाडौं । अखिल नेपाल फुटबल संघ आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारीको अवस्था बारे जानकारी गराएको हो ।
सबै नेपाली अहिले सबैभन्दा ठूलो चाड दशैँको माहोलमा झुमेको बेला महिला फुटबल टोली भने साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ ।च्याम्पियन्सिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने तय छ ।
सहभागिता टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको जंगी अड्डा भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले बताए । प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख ८०० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।
च्याम्पियनसिपको पहिलो खेल कात्तिक १ गते भारत र पाकिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने कात्तिक २ गते भुटानसँग खेल्दै साफ यात्रा सुरु गर्नेछ । नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
अहिलेसम्म नेपालले साफको उपाधि जित्न सकेको छैन । यस पटक च्याम्पियन बन्ने लक्ष्य रहेको र त्यसका लागि टिम तयार रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । तामाङको प्रशिक्षणमा हाल २७ खेलाडी बन्द प्रशिक्षणमा छन् । त्यसबाट अन्तिम टोली छनोट गरिनेछ ।