गंगु कुवँर मगर,गुल्मी । हामी त्यहाँ पुग्दा हिराबहादुर भेडासँगै गल्थुङ्ग भिरमा हुनुन्थ्यो । एक हातमा लट्ठी लिएर एक तकले भेंडा नियाल्दै हुनुहुन्थ्यो । उमेरले ७८ वर्ष बित्दै गरे पनि जंगल जंगलमा गएर भेडा चराउँनु उहाँको दिन चर्या हो । न त कुनै चाड पर्व न त कुनै हुरी बतास खडेरी पानी ।
समय भयो त भेडासँगै जंगल पुगिहाल्नुहुन्छ उहाँ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं.-१४, रातामाटाका हिराबहादुर सर्तुङ्गी विगत ७३ वर्ष अघि देखि यही भेंडा चराउँदै आउनुभएको छ । रेसुङ्गा अन्तर्गतका कुलो भञ्ज्याङ्ग , पन्चासे, साउने , रेसपोखरा, ढावडांडा, खहरे, गोठार, पुरन पानी , गल्थुन्ङ लगायतका चरन क्षेत्र उहाँका दैनिकी हुन् । बिहान १० बजिसक्दा उहाँ जंगल पुगिहाल्नुहुन्छ ।
बेलुकी ०५ बजे घरमा फर्किदा घाँस दाउरा वा अन्य केहि न केही बोकेर पुग्नुहुन्छ । अहिले भने पत्नी रैमता सर्तुङ्गीको निधनले आफू विक्षिप्त बनेको र त्यति जाँगर नचलेको – एक हातले पारी डांडातिर बताउँदै भन्नुभयो । आफ्नो जिजु हजुरआमाले दिनुभएको भेंडा अहिले ३ दर्जन भन्दा बढी छन् ।
कोहि घरमै आगनमा छन् बच्चासँग,कोही यतै जंगलमा छन् चरिरहेको भेंडा देखाउँदै भन्नुभयो । बाबाको पालामा १० रुपैयाँँ पर्ने भेंडा अहिले १६ हजार भन्द माथि बिक्री भैरहेको छ । सोही बिक्रीबाट वार्षिक ६० हजार देखि डेढ लाख सम्म कमाउनुहुन्छ उहाँ । भेंडा पाल्न खासै दुख नभएको र भेंडा बिक्रीबाट घर व्यवहार राम्रै चलेको उहाँले बताउनुभयो ।
त्यस्तै घरमा आधा दर्जन बढी माउ सुंगुर नै रहेको बताउनुभयो । कान्छो छोरासँगै बस्दै आउनुभएका उहाँ बटौली भन्दा टाढा नगएको बताउनुहुन्छ । आफू बाउ बाजेसँग नुन बोक्न त्यहाँ पुगेको र त्यहाँ भन्दा उता नगएको बताउनुभयो । अझ औषधिको नाममा एउटा सिटामोल समेत नखाएको बताउनुहुन्छ ।
शरीर त हट्ठा कट्ठा छ , के खानुहुन्छ त? प्रश्नमा – जाँडरक्सी । ठट्यौली पारामा भन्नुभयो । उता कतिपय बेला आँखै अगाडि बाघ चितुवाले भेंडा झम्तिंदा खान समेत नदिएको बताउनु हुन्छ । सबै साथीहरू भर्ती हुँदा साथीहरूसँगै भर्ती हुन मन लागेन ? अहिले पछुतो लाग्छ ? भन्ने प्रश्नमा – ७, ८ वर्षको बालक काल उमेर देखि ४ बीस काट्दै गर्दाको आजसम्मकोबुढ्यौली उमेर सम्म भेंडासँगै जंगल जाने गरेकोले तिनै जंगलका धेरै ठाउँसंग मितेरी लगाएकोले कुनै पछुतो नभएको बताउनुभयो ।
सानैमा बिहे गरियो सँगै मेलापात घाँस दाउरा गरियो । भालेको डाकोसंगैको ढिंकी जांतो गरियो तर आज म सँगैको मेरी पत्नीपनि मलाई छाडेर गइ । म पनि त्यही बाटो जाने हो बाबु ।- घर तिर जाँदै गरेको हुल भेंडातिर हेर्दै भावुक हुँदै भन्नुभयो ।समयले डांडो काट्दैछ र पनि रेसुङ्गाको ती वन जंगलसंग वालापनमा लागाएको मितेरी अझै उस्तै छ ।
कतिपय लुकामारी खेल्ने बुटाहरू ढलिसके , भेंडा बाख्राको पछि पछि खाली खुट्टा हिडेका गोरेटा पहिरोले पुरी सके ,घाँस दाउरा गर्ने कतिपय डांडा कांडा नाङ्गै भैसके तर ती अतित ताजै छन् । वर्षामासमा होस् वा हिउँदमास त्यही भेंडा चराउंदैमा बित्यो त्यो जवानी ।
जति गर्नुभो जे गर्नुभो उहाँ लाई कुनै पछुतो छैन । ८ वर्षको बालक काल उमेर देखि ४ बीस काट्दै गर्दाको बुढ्यौली उमेर सम्म तिनै पन्चासे, साउने , रेसपोखरा,ढावडांडा, खहरे लगयतका ठाउँसंग लगाएका मितेरी , पात बजाउंदै गांसेका पिरती,गाएका भाका संगै तिनै मेलापात भालेको डाकोसंगैको ढिंकी जांतो तितामिठा क्षण अनि आफू सरिक भएका ती दिनहरू । हो उहाँ लाई कुनै पछुतो छैन।