काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानको क्रममा लामिछानेको आजबाट काठमाडौंमा बयान सुरु भएको छ । शुक्रबार ६ घण्टाभन्दा बढी समय लामिछानेसँग बयान लिइएको छ । सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् ।
केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । पार्टीको औपचारिक निर्णयमा भने सडक प्रदर्शन नगर्ने निर्णय गरिएको छ ।