काठमाडौं। त्रिवि मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका खेलहरू सकिएका छन् । नेपाल क्रिकेट एसोसियसन (क्यान) को आयोजनामा भइरहेको एनपीएलमा सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल सँगै प्लेअफमा पुग्ने टोलीहरूको पनि टुंगो लाग्यो ।
सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा ठाउँ बनाउँदै टाइटल जित्ने होडमा छन् । तर लिग चरणबाटै बाहिरिने चार टोलीमा पर्यो, पोखरा एभेन्जर्स । कुशल भुर्तेल कप्तानीको पोखरा आफ्नो एक खेल बाँकी रहँदै प्लेअफ सम्भावनाबाट बाहिरिएको थियो ।
खेल हो, हारजित भइहाल्छ । तर कुन क्रिकेटरले कसरी खेले भन्नेले धेरै अर्थ राख्छ । लिग चरणबाट अगाडि बढन् नसकेको पोखरा एजेन्जर्सका दिनेश खरेलले त्यस्तै दमदार छाप छोड्न सफल रहे । ७ खेलबाट खरेलले एक अर्धशतक सहित १६२ रन जोडे । प्रतियोगिताभर ८ छक्का र १७ चौका प्रहार गरे । ओपनिङ ब्याटर बनेर उनी पोखराको तर्फबाट सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बने ।
चितवन राइनोजविरुद्धको पहिलो खेलमा कप्तान कुशल भुर्तेलसँग ओपनर ब्याटर बनेर उनी मैदान प्रवेश गरेका थिए । पहिलो दिन भुर्तेलसँगको साझेदारी जम्न सकेन । १२ बल खेल खेल्दै जम्मा १ रन जोडे । समग्रमा त्यो खेल पोखराको खराब प्रदर्शन मध्ये एक थियो । चितवनका बलर सामु टिक्न नसकेको पोखरा ८७ रनको विशाल रनअन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा पनि पोखरा एभेन्जर्स जनकपुर बोल्ट्ससँग पराजित भयो । जनकपुरसँगको खेलमा पनि दिनेश नै ओपनर थिए । उनले त्यो खेलमा आन्द्रेस गौससँग ओपनिङ साझेदारी गरे । १६ बलको सामना गरेका उनले १ छक्का र ३ चौकासहित २० रन जोडे ।
अघिल्ला २ खेलमा लगातार हार व्यहोरेको पोखरा एभेन्जर्स तेस्रो खेलमा भने लयमा फर्कियो । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दा आन्द्रेस र दिनेशले एनपीएलकै उत्कृष्ट साझेदारी गरे । १७६ रनको साझेदारी गर्दा अमेरिकी खेलाडी एन्ड्रिजले एनपीएलकै पहिलो शतक प्रहार गर्ने क्रिकेटर बने ।
गौसले १०४ रन जोड्दा दिनेशले ६१ रनसहित अर्धशतक बनाए । लुम्बिनीविरुद्ध दिनशले ४ चौका र ४ छक्का हानेका थिए । उनका ‘ओपनिङ पार्टनर’ आन्द्रेस अमेरिकाका अनुभवी ब्याटर हुन् । उनी दक्षिण अफ्रिकाका धेरै घरेलु लिग तथा क्यारेबियन प्रिमियर लिगसमेत खेलिसकेका छन् । हाल अमेरिकी राष्ट्रिय टिमका सदस्य गौस आफैंमा उत्कृष्ट खेलाडी त हुन् नै, उनीसँगको दिनेशको ओपनिङ साझेदारी महत्वपूर्ण रह्यो ।
कर्णाली याक्सविरुद्धको खेल पनि आन्द्रेस र दिनेशको ओपनिङ साझेदारी हेर्नलायक नै थियो । कर्णाली याक्ससँगको खेलमा आन्द्रेसले १२ बलमा २५ रन जोड्दा दिनेशले १९ बलमा २६ रन बनाएका थिए । उनले १ छक्का र ४ चौक्का प्रहार गरे ।
सनसनी सुपरओभर
एनपीएल लिग चरणको खेल सम्झिँदा बिर्सनै नहुने पोखराको अर्को खेल विराटनगरविरुद्धको खेल बन्यो । निर्धारित ओभरमा १३९ रनको बराबरीमा खेल पुगेको थियो । विराटनगरविरुद्धको खेलमा पनि आन्द्रेस र दिनेश नै ओपनिङ जोडी थिए । ११ बलको सामना गरेर दिनेशले ११ रन नै जोडे । अर्थात् जति क्रिजमा टिके उनले शतप्रतिशत दिए ।
तर खेल नाटकीय रुपमा सुपरओभरमा पुग्यो । सुपरओभरमा दिनेशले रेमन रिफरको साथ पाए । रिफरले ५ बल सामना गर्दै २ छक्का र १ चौकाहत १७ रन जोड्दा विपरीत दिशाबाट दिनेशले नै साथ दिएका थिए ।
त्यस्तै काठमान्डु गुर्खाज् विरुद्धको खेलमा पनि दिनेशले उत्कृष्ट प्रदर्शन गरे । ओपनर आन्द्रेस ५ बल सामना गरेर रन नजोडी आउट हुँदा दिनेशले २५ बलमा ३८ रन बनाए । काठमान्डु गुर्खाजविरुद्ध उनले १ छक्का र ६ चौका प्रहार गरे ।
सुदूरपश्चिम रोयल्स दिनेश खरेलले जम्मा १२ बलको सामना गरे । १२ बलमा उनले १५ रन लिएका थिए । सुदूरपश्चिमसँग पोखरा केवल ५ रनले पराजित हुँदा दिनेशका साझेदार ओपनर आन्द्रेस गौसले २१ बलमा ३६ रन बनाए ।
राष्ट्रिय टीममै सम्भावना
लिगमै राम्रो खेलेका दिनेश खरेल क्रिकेटरहरु सामेल लिगमा लगभग नसुनिएका नाम हुन् । न्युजिल्याण्डको घरेलु क्लबबाट खेल्ने उनलाई धेरै नेपालीले नचिन्ने अस्वभाविक पनि होइन । तर दिनेशले नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीबाट खेलेका थिए ।
सन् २०२२ को त्यो राष्ट्रिय खेलकुदमा पनि खरेलले जम्मा एक खेल खेलेका हुन् । विभागीय टिम एपीएफसँगको खेलमा १६ बल खेलेका उनले २ चौका र ३ छक्कासहित ३२ रनको पारी खेलेका थिए ।
अर्थात् एनपीएल खेल्न उनी दोस्रो पटक नेपाल आएका हुन् । पोखरा एभेन्जर्सले आफ्नै आग्रहमा उनलाई एनपीएलको अक्सनमा राखिएको थियो । पहिलो चरणको अक्सनमा उनको नाम थिएन, पछि टिमले नै आग्रह गरेपछि दिनेश खरेल नामले इन्ट्री पाएको थियो ।
क्याटगोरी ‘सी’मा राखेर खरेललाई पोखराले न्यूनतम मूल्यमा खरिद गरेको थियो । तर तुलनात्मक महँगा र आश गरिएका ओपनर भन्दा कयौं गुणा राम्रो खेलेर दिनेशले आफूलाई आक्रामक ओपनर सावित गरे ।
खरेल बायाँ हाते ब्याटर दिनेशको प्रदर्शनले राष्ट्रिय टीमकै ओपनर र पोखराका कप्तान कुशल भूर्तेल छायाँमा परे । नेपाली क्रिकेट टिमका तर्फबाट अहिले भुर्तेलसहित असिफ शेख र अनिल शाह पनि ओपनरका रुपमा खेल्दै आएका छन् ।
गुल्मीमा जन्मिएर २ वर्षकै उमेरमा न्यजिल्यान्ड गएका दिनेश नवौं राष्ट्रिय खेल्न पहिलो पटक नेपाल फर्किएको बताउँछन् । ‘त्यहीबेलाको मेरो खेल हेरेर दाइहरुले मेरो नाम अक्सनमा राख्नु भएको रैछ, त्योभन्दा अगाडि एनपीएल भन्दा अगाडि योबारेमा कुरै भएको थिएन,’ खरेलले भनेका छन् ।
ओपनरका रुपमा एनपीएलमा चितवनविरुद्धको पहिलो खेलमा भने खरेलको प्रदर्शन कमजोर रह्यो । उनले केवल एक रनमात्रै जोड्न सके । तर आफू भर्खरै न्युजिल्यान्डबाट आएकाले पिचको अवस्था बुझ्न नसकेको बताए । ‘पहिलो खेलमा पिचको कन्डिसन बुझ्न पनि टाइम लाग्यो । त्यसपछि केही एडजस्ट हुँदै आएँ’, उनले भनेका छन् ।
नेपाली क्रिकेटमा कुशल मल्ल र गुल्जन मल्ल मात्रै बायाँ हाते ब्याटर हुन् । विपक्षी टिमका लागि चुनौती मानिने बायाँ हाते ब्याटर नेपाली टिममा कम छन् । खरेलको प्रदर्शनले राष्ट्रिय टिममा पनि उनको उपस्थिति भए केही राहत हुने विश्लेषण हुन थालेको छ ।
यसमा खरेल पनि सकारात्मक छन् । उनले आफूले नेपालको राष्ट्रिय टिमबाट खेल्ने अवसर पाए खेल्ने बताएका छन् । ‘त्यो अवसर (नेपालको राष्ट्रिय टिमबाट खेल्ने) पाएँ भने खेल्छु । नेपालको रिप्रेजेन्ट गर्न पाउँदा कहिले नाइँ भन्दिनँ, यो मेरो पनि देश हो’, लुम्बिनीसँगको खेल जितेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन् ।
जारी एनपीएलकै दौरान खरेलले आफूसँग नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईसँग भेट भएको पनि खुलाए । तर आफू नेपाली क्रिकेट टिममा आउने वा नआउनेबारे भने निश्चित नभएको उनले बताए । ‘मोन्टी सरसँग पनि कुरा भइराखेको छ । नट स्योर बट लेट्स सी ह्वाट्स ह्यापेन्ड’, उनले भनेका छन् । अनलाइनखबरबाट साभार