काठमाडौं : राजसंस्था पुनःस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई निरन्तरता दिएको छ। राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग राख्दै राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गरलगायतका नारा लगाएका थिए। राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरूको संयुक्त प्रयास भएको समितिले जनाएको छ।
प्रदर्शनका क्रममा राप्रपा नेता ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले राजसंस्था र हिन्दू राज्यसहितको नयाँ व्यवस्था कायम हुनुपर्ने बताए।
उनले मुलुकमा राष्ट्रपति नभइ अभिभावकीय संस्थाका रूपमा राजा चाहिने बताए। राजसंस्था पुनःस्थापनाको लागि आफूहरूको आन्दोलन निरन्तर रहने समितिले जनाएको छ। आन्दोलनका क्रममा शनिबार दरवार मार्ग क्षेत्रमा प्रदर्शन गर्ने राजावादीहरूले जनाएका छन्।