रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु- प्रचण्ड



नागरिक अपडेट


काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेलाई अन्याय हुन नदिन आफू प्रयासरत रहेको बताएका छन् ।

Advertisement

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले आफूले गरेको प्रयास रास्वपाका नेताहरूले एक दिन बुझ्ने पनि जिकिर गरे ।गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा रास्वपालाई एक्लै छाडेर सहमति गरेको प्रसंगमा बोल्दै उनले यस्तो भनेका हुन् ।

Advertisement

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘यसमा अहिले रास्वपालाई धेरै भन्ने पक्षमा छैन । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्न निम्ति अन्तिम समयसम्म प्रयास गरेँ । अझै गर्दैछु । रास्वपाका साथीहरूले एक दिन बुझ्नुहुन्छ’, उनले भने ।

Advertisement

भिजिट भिसा प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र तथा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानविन समिति बनेको छ ।

तर, मंगलबार बसेको संसद् बैठकमा रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त समितिलाई अस्वीकार गर्दै गृहमन्त्रीको कर्तुत ढाकछोपको प्रयास भनेका छन्। यसैबीच मंगलबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच छलफल भएको छ।

उक्त छलफलमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए । उता नेकपा एकीकृतबाट अध्यक्ष माधवकुमार नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए। छलफलमा सरकारले सोमबार गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन समितिबारे छलफल भएको नेताहरूले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया