रेसुङ्गा नगरपालिका:पूर्वाधार विस्तार,शिक्षामा लगानी र स्वास्थ्यमा स्थायित्व



नागरिक अपडेट


गुल्मी । रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार नगर प्रमुख खिलध्वज पन्थीले नगरसभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

Advertisement

पछिल्ला वर्षहरूमा रेसुङ्गा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै समृद्धिको यात्रालाई गति दिँदै आएको छ। प्रस्तुत बजेटले यस अभियानलाई थप तीव्रता दिने संकेत दिएको छ।

Advertisement

शिक्षामा लगानी
जिल्लास्थित रेसुङ्गा बहुमुखी क्याम्पस विगतमा गम्भीर आर्थिक संकटमा परेको थियो। सोही क्याम्पसलाई पुनःस्थापित गर्न नगरपालिकाले विगत दुई आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको छ।

Advertisement

महालेखा परीक्षकको कार्यालय (मलेप)ले यो सहयोग रकमलाई बेरुजु देखाए पनि शिक्षा बचाउने उद्देश्यले नगरपालिकाले उक्त जोखिम उठाएको थियो। अहिले क्याम्पसमा विद्यार्थी संख्या बढेको छ र कक्षा नियमित सञ्चालनमा छन्।

पूर्वाधार विकास
पछिल्ला तीन वर्षमा नगरपालिकाले करिब ७० किलोमिटर सडक पिच गरेको छ। यसले दुर्गम बस्तीहरूलाई सडक सञ्जालमा जोडेर स्थानीय आर्थिक तथा सामाजिक गतिशीलता अभिवृद्धि गरेको छ।

त्यस्तै, सिमीचौरस्थित रेसुङ्गा विमानस्थलको नियमित सञ्चालनसँगै गुल्मी जिल्ला देशको हवाई सञ्जालमा जोडिएको छ। यसले पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा र आपतकालीन अवस्थामा सहजता ल्याएको छ।

स्वास्थ्यमा स्थायित्व
नगरपालिकाले लुम्बिनी प्रदेश सरकार मातहतको गुल्मी अस्पतालमा विशेषज्ञ चिकित्सकहरूलाई टिकाइराख्न प्रोत्साहन दिने नीति लिएको छ। चिकित्सकहरूलाई अतिरिक्त तलब, सेवा सुविधा र आवश्यक सहयोग उपलब्ध गराउँदै नगरले जिल्लामै डाक्टरहरूलाई स्थायीत्वका साथ राख्न सफल भएको छ। यसले स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक प्रभाव पारेको छ।

शैक्षिक उत्कृष्टता प्रोत्साहन
एसईई परीक्षामा ४.०० जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय नगरपालिकाले गरेको छ। नगर प्रमुख पन्थीका अनुसार, मेधावी विद्यार्थीलाई थप मेहनत गर्न प्रेरणा दिने उद्देश्यले यो योजना ल्याइएको हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया