तीव्र गति,चालकको लापरबाही र बिग्रेको सडक चितवन दुर्घटनाको कारण



नागरिक अपडेट


चितवन । २०८२ साल असार ७ गते शनिवार बिहान १०:१५ बजे चितवनको राप्ती नगरपालिका-४ डडुवामा भएको ईभी भ्यान र यात्रुवाहक बस दुर्घटनामा ७ जनाले ज्यान गुमाए । दुर्घटनामा एकै परिवारका तीन सदस्य तथा गर्भमा रहेको शिशुको समेत र अन्य चार गरी ७ जनाको मृत्यु भयो भने १८ जना घाइते भए ।

Advertisement

शनिबार बिहान हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको ईभी भ्यान र धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा यस्तो गम्भीर दुर्घटना भएको थियो ।

Advertisement

दुर्घटनामा मृत्यु हुने सबै ईभी भ्यानमा सवार यात्रुहरू थिए । ईभी भ्यान चालकको घटनास्थलमै तत्कालै मृत्यु भएको थियो । दर्दनाक चितवन दुर्घटनाले यतिबेला चितवन र मकवानपुर मात्रै होइन, देश नै पीडामा रहेको अवस्थामा दुर्घटनाका कारणका सम्बन्धमा भने खासै चर्चा भएको छैन ।

Advertisement

यो पनि …

सुत्केरी गराउन भरतपुर जाँदै गर्दा श्रीमान र सासूसहित अस्ताइन् रेणुका

सुत्केरी गराउन भरतपुर जाँदै गर्दा श्रीमान र सासूसहित अस्ताइन् रेणुका

औसतमै ६० किलोमिटर प्रतिघण्टामा चल्छन् राजमार्गमा सवारी
शनिबार बिहान डडुवामा ईभी भ्यान र यात्रुवाहक बस दुर्घटना भएको स्थान राजमार्ग अर्थात् हाइवे हो । यो देशकै व्यस्त राजमार्गमध्ये एक हो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार राजमार्गहरूमा पनि अधिकतम ५० किलोमिटर प्रतिघण्टाभन्दा बढी रफ्तारमा सवारीसाधन चलाउन पाइँदैन ।

दुर्घटना भएको डडुवा नजिकै रहेको टिकुली जङ्गल क्षेत्रमा भने चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले अधिकतम ४० किलोमिटर प्रतिघण्टाको दरमा मात्रै सवारीसाधन चलाउन पाइन्छ । तर जुन स्थानमा दुर्घटना भयो, त्यस स्थानमा औसतमा पनि ६० किलोमिटर प्रतिघण्टाका दरले सवारीसाधन चल्ने गरेको चितवन ट्राफिकका प्रमुख इन्स्पेक्टर गायत्रीराज शर्माले बताए ।

हाइवेमा कतिमा चलाउन पाउने भन्ने स्पष्ट नीति र निर्देशिका नभएको कारण कारबाही गर्न समेत कठिन रहेको इन्स्पेक्टर शर्माले बताए ।

कसरी भयो दुर्घटना ?
शनिवार बिहान ईभी भ्यान र यात्रुवाहक बस दुर्घटना हुँदा दुवै सवारीसाधनको गति अत्यधिक रहेको पाइएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यान र धनगढीबाट काँकडभित्तातर्फ गइरहेको दुवै बसको गति तीव्र रहेको एक प्रत्यक्षदर्शीले बताए ।

दुर्घटनालाई आफ्नै आँखा अगाडि देखेका कुमार थपलियाका अनुसार ईभी माइक्रोले तीनवटा ट्रकलाई एकैपटक ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो भने धनगढीबाट काँकडभित्ता जान लागेको बसले पनि अगाडि रहेको बसलाई ओभरटेक गर्दा दुर्घटना भएको हो । यद्यपि दुर्घटनाको क्षति भने सानो गाडी भएकाले ईभी भ्यानले मात्रै बेहोर्नुपर्‍यो ।

प्रत्यक्षदर्शी भन्छन्, ‘तीव्र गति नै दुर्घटनाको मुख्य कारण’
जुन स्थानमा दुर्घटना भएको थियो, सोही स्थानमा रहेको अर्को बसमा यात्रा गर्दै थिए, कुमार थपलिया । पेसाले थपलिया पनि सवारीचालक नै हुन् र उनी नारायणगढ क्षेत्रमा म्याजिक भ्यान चलाउँछन् । उक्त दिन उनी काम विशेषले नारायणगढबाट हेटौँडा जाँदै थिए र उनी बसको अगाडिको भागमा थिए ।

उनी चढेको बस अगाडि बढ्दै गर्दा हेटौँडाबाट नारायणगढतर्फ आइरहेको ईभी भ्यान आफूभन्दा अगाडि रहेको तीनवटा ट्रकलाई एकैपटक ओभरटेक गर्न तीव्र गतिमा आइरहेको थियो । दुईवटा ट्रकलाई ओभरटेक गरी तेस्रो ट्रकको नजिक पुग्न लागेपछि उनी चढेको बसले ब्रेक लगाएर ईभी भ्यानलाई अगाडि जान दिन खोज्यो ।

थपलिया चढेको बस करिब ४० किलोमिटर प्रतिघण्टा जतिको रफ्तारमा हुँदा उनी भन्दा पछाडि रहेको मितेरी यातायातको बसले थपलिया चढेको बसलाई ओभरटेक गर्‍यो । धनगढीबाट काँकडभित्तातर्फ जाँदै गरेको उक्त बसको गति करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको थपलियाको अनुमान ।

अगाडि रहेको बसलाई ओभरटेक गरेर मितेरी यातायातको बस आफ्नो लेनमा आइसकेको थियो । तर तीन वटा ट्रकलाई ओभरटेक गर्न खोजेको ईभी भ्यानले दुईवटा ट्रकलाई ओभरटेक गरेको भए पनि एउटा ट्रकलाई ओभरटेक गर्न सकेको थिएन । अनि अगाडि रहेको ट्रकले पनि ईभी भ्यानलाई साइड दिइरहेको थिएन ।

दुवै सवारीको गति अत्यधिक धेरै रहेको तथा सवारी चालकले अर्को सवारी देखेका थिएनन् । जसका कारण यो गम्भीर दुर्घटना हुन पुग्यो । थपलिया अगाडि भन्छन्, ‘यसको कारण भनेको नै तीव्र गति र लापरबाही नै हो । यहाँ सबैले ईभीको मात्रै गल्ती देखाएका छन् । एकैपटक तीनवटा ट्रक ओभरटेक गर्न खोज्नु ईभी चालकको गल्ती त हो । तर यसमा मितेरी यातायातको बस र ट्रकको पनि गल्ती छ, त्यही कारण दुर्घटना भयो ।’

उबडखाबड सडकका कारण ईभी चिप्लियो
थपलिया तीव्र गति, चालकको लापरबाही बाहेक सडक पनि अर्को कारण रहेको बताउँछन् । थपलिया भन्छन्, ‘जहाँ दुर्घटना भयो, त्यो ठाउँमा पिच गरेको पनि मिलेको थिएन । त्यहाँ कहीँ खाल्डो त कहीँ उठेको थियो । पानी परेको बेला उबडखाबड सडक तथा अर्को बस एक्कासि ओभरटेक गरेर आएको कारण गलत लेनमा रहेको ईभी चालकले ब्रेक लगाउँदा पनि रोकिने समय पाएनन् ।

त्यसपछि विपरीत लेनमै आएर बससँग ठोक्कियो र दुर्घटना भयो ।’उनले भने, ‘म पनि सवारी चालक हो, ब्रेक लगाउँदैमा त्यहीँको त्यहीँ त कहाँ गाडी रोकिन्छ र ! ब्रेक लगाएपछि केही स्लो त भएको हो, तर रोकिएको होइन । त्यसमाथि पानी परेको बेलामा गाडी चिप्लने पनि गर्छ ।’

ईभीको ज्ञान चालकलाई भएन : ट्राफिक इन्जिनियर आशिष गजुरेल
चितवन दुर्घटनाका सम्बन्धमा ट्राफिक इन्जिनियर आशिष गजुरेल पनि तीव्र गति नै दुर्घटनाको कारण मान्छन् । ईभी गाडीका चालकले एक्कासि ओभरटेक गर्नु र ओभरटेक गर्दा गतिमा नियन्त्रण गर्न नसक्नु नै दुर्घटनाको कारण रहेको गजुरेलले बताए ।

गजुरेलका अनुसार ईभी गाडी वा डिजेल गाडीको उत्पादन वा क्षमता मै समस्या भएको नभई त्यसको प्रयोगमा भने जानकारी अझै नपुगेको बताउँछन् । गजुरेल भन्छन्, ‘ईभी गाडीको इफिसियन्सीको बारेमा त कुनै शङ्का छैन, त्यसमा कुनै कम्प्रोमाइज पनि छैन । तर समस्या कहाँ हो भने यसको प्रयोगका सन्दर्भमा चालकलाई पर्याप्त जानकारी छैन, दुर्घटनाको कारण त्यही नै देखिएको छ ।’

गजुरेलका अनुसार ईभी गाडीमा गियर नहुने भएकाले तत्कालै गाडीको स्पिड बढ्ने र ब्रेक लगाउँदा बिस्तारै लाग्ने भएकाले गति बढी हुँदा कन्ट्रोलमा समस्या देखिएको छ । गजुरेल भन्छन्, ‘डिजेल गाडीमा स्पिड कन्ट्रोल गर्न ब्रेक र गियर दुवै हुन्छ, तर ईभी गाडीमा गियर नहुँदा ब्रेकमा मात्रै भर पर्नुपर्छ ।

त्यसैगरी स्पिड बढाउँदा पनि गियर भएको गाडीले बिस्तारै पिकअप लिन्छ भने ईभी गाडीले तत्कालै पिकअप लिन्छ । त्यस्तो हुँदा पहिले डिजेल वा पेट्रोलको सवारी चलाएर पछि ईभी चलाएका चालकहरू झुक्किने पनि गर्छन् र ढिलो हुन्छ वा छिटो हुन्छ भन्दा भनेको जस्तो नभएर दुर्घटना भएका छन् । तर ईभी गाडीका अधिकांश दुर्घटनाका कारणमा तीव्र गति नै देखिएको छ ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया